एमालेको राष्ट्रपति नभए प्रतिपक्षमा बस्छौँ –सचिव भट्टराई

सुर्खेत, ८ फागुन ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले उठाएका उमेद्वार राष्ट्रपति नभए आफ्नो पार्टी प्रतिपक्षमा जाने बताउनुभएको छ ।
जागरण एफ.एम.को ‘जागर विशेष’ कार्यक्रममा सचिव भट्टराईले राष्ट्रपतिको सन्दर्भमा सहमति कायम नभए सत्ता गठबन्धन भत्किने बताउनुभएको हो । प्रधानमन्त्री पुष्प कमल दाहालले नै पुस दश गते राष्ट्रपति र सभामुख एमालेलाई दिने प्रस्ताव गरेको जिकिर गर्दै उक्त सहमति इमान्दारीपूर्वक पालना हुनुपर्नेमा भट्टराईले जोड दिनुभयो । उहाँले एमालेकै उमेद्वार राष्ट्रपतिमा निर्वाचित विश्वास समेत व्यक्त गर्नुभयो । ‘पुस दश गतको सहमति कायम छ भन्ने एमालेले बुझेको छ’ उहाँले भन्नुभयो‘एमालेबाट प्रस्तावित व्यक्ति नै राष्ट्रपति हुन्छ ।’ नेकपा माओवादीले काँग्रेसका उमेद्वारलाई अघि सारे एमाले प्रतिपक्षमा जाने उहाँको भनाइ छ । राष्ट्रपतिमा काँग्रेसलाई समर्थन गरेर सत्ता गठबन्धन जोगाउने संभावना कतिको छ भन्ने प्रश्नमा भट्टराईले त्यस्तो संभावना नरहेको स्पष्ट पार्नुभयो । उहाँले सत्ता गठबन्धनलाई निरन्तरता दिने हो वा काँग्रेसलाई साथ दिने हो स्पष्ट हुन पनि प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ ।
अहिलेको सत्ता गठबन्धन भत्काउनका लागि विदेशी शक्तिहरु लागि परेको सचिव भट्टराईको भनाइ छ । नेपालका बामपन्थी दलहरुलाई एक ठाउँमा नउभिउन भन्ने र काँग्रेस सत्ता बाहिर नबसोस भन्ने चाहाना छिमेकी राष्ट्रहरुले राख्ने गरेको उहाँले जिकिर गर्नुभयो । ‘हाम्रा केही विदेशीहरुलाई के छ भने काँग्रेसलाई विपक्षमा राख्दा मुटु दुख्छ त्यति धेरै स्नेह किन हो था छैन तर काँग्रेस प्रति अतिरिक्त मोह छ केही विदेशी शक्तिहरुको’ उहाँले भन्नुभयो ।

 

अन्तर्वार्ता सुन्नका लागि तलकाे लिंकमा क्लिक गर्नुहाेस

https://www.facebook.com/jagarannetwork/videos/732264724949105