जुम्लाको तातोपानी गाउँपालिकामा औद्योगिक ग्राम स्थापना हुँदै

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–४ मा औद्योगिक ग्राम स्थापना हुने भएको छ । युवालाई रोजगारी तथा आत्मनिर्भर बनाउने उद्धेश्यले तातोपानी–४ मा औद्योगिक ग्राम बन्न लागेको हो ।
गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईका अनुसार स्थानीय स्रोत साधनको सदुपयोग गर्दै स्थानीय तहमा नै रोजगारी सिर्जना, जीविकोपार्जन र गरिबी निवारण गर्न औद्योगिक ग्रामले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७९ भदौ १० गते औद्योगिक ग्राम स्थापनाको लागि सार्वजनिक सूचना जारी गरेको थियो ।
त्यही आधारमा पालिकाले औद्योगिक ग्राम स्थापनाका लागि मन्त्रालयमा प्रस्ताव पेस गरेको वडाध्यक्ष अमर रोकायाले बताउनुभयो ।
करिब १५ हजार आठ सय ८२ वर्गमिटर क्षेत्रफलमा रहेको सार्वजनिक जग्गामा औद्योगिक ग्राम स्थापनाका लागि मन्त्रिपरिषद्को यही फागुन ४ को निर्णयबाट स्वीकृत भई पारित समेत गरेको छ ।
औद्योगिक ग्रामबाट स्थानीय स्रोत, कच्चा पदार्थ, सीप र साधनको परिचालन गरी स्थानीयवासीको रोजगारी सिर्जनामा टेवा पुग्ने वडाध्यक्ष रोकायाले बताउनुभयो ।