सात महिनामा नेपालको व्यापार घाटा आठ खर्बभन्दा धेरै

कठमाडौं । चालु आर्थिक वर्ष २०७९÷८० को सात महिनाको अवधिमा नेपालको व्यापार घाटा आठ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ नाघेको छ ।
भन्सार विभागले आज बुधवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा नेपालले १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख बराबरको वैदेशिक व्यापार गरेको छ ।
यसमध्ये नौ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदा ९३ अर्ब ४३ करोड २३ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको देखिएको हो ।
यो अवधिमा नेपालले गरेको वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७७ प्रतिशत र निर्यातको हिस्सा नौ दशमलव २३ प्रतिशत छ ।
गएको माघ मसान्तसम्म भएको वैदेशिक व्यापारबाट दुई खर्ब १२ अर्ब १२ करोड ७४ लाख रुपैयाँ बराबर भन्सार राजस्व उठेको विभागको तथ्याङ्कबाट देखिन्छ । गएको आर्थिक वर्ष २०७८÷७९ को सात महिनाको अवधिमा नेपालले गरेको वैदेशिक व्यापारको तुलनामा यस वर्षको त्यही अवधिमा गरेको व्यापार २० दशमलव ८४ प्रतिशतले घटेको छ ।
त्यस्तै गएको वर्षको तुलनामा आयात १९ दशमलव ९० प्रतिशतले घटेको छ भने निर्यात २९ प्रतिशतले घटेको विभागले जनाएको छ ।
नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारत हो । माघ मसान्तसम्ममा नेपालले भारतबाट पाँच खर्ब ७० अर्ब ९६ करोड ९७ लाख रुपैयाँ बराबरको सामान आयात गरेको छ ।
यही अवधिमा नेपालबाट भारतमा भएको निर्यात भने ६६ अर्ब २२ करोड ६५ लाख रुपैयाँ बराबरमात्रै छ । सात महिनाको अवधिमा चीनबाट एक खर्ब २५ अर्ब पाँच करोड २४ लाख रुपैयाँ बराबरको आयात हुँदा ४२ करोड २६ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।
यो अवधिमा नेपालले वैदेशिक व्यापार गरेको तेस्रो ठूलो देश इन्डोनेसिया हो । इन्डोनेसियाबाट ५७ अर्ब नौ करोड ६९ लाख रुपैयाँ बराबरको आयात हुँदा १० करोड ३६ लाख रुपैयाँ बराबरमात्रै निर्यात भएको छ ।