राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने

काठमाडौं । राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ ।
यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि आज नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल तथा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभयो ।
पौडेल र नेम्वाङ दुवै जना पूर्व सभामुख हुनुहुन्छ । पौडेलको उम्मेदवारी दर्ता गर्न प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ८ राजनीतिक दलका नेताहरु सहभागी हुनुभएको थियो ।
पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान तथा समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहनुभएको छ ।
कांग्रेसको बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
यसअघि सभामुख तथा उपप्रधानमन्त्री भइसकेका पौडेल गएको मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य चुनावमा तनहुँ–१ बाट निर्वाचित हुनुभएको थियो ।
त्यस्तै एमालेबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभएको छ । संसद भवन नयाँ बानेश्वरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभयो ।
नेम्वाङको प्रस्तावकमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरु पृथ्वीसुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुबीर महासेठ र छविलाल विक रहनुभएको छ भने समर्थकमा नेताहरु योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहनुभएको छ ।
आज बिहान बसेको एमाले केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
नेम्वाङ एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख हुनुहुन्छ । उहाँ इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
उम्मेदवारी दर्तापछि नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताउनुभएको छ ।