खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ सुर्खेतमा पौडेल

सुर्खेत, १७ फागुन ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा सुर्खेतको अध्यक्षमा पूर्ण प्रसाद पौडेल चयन हुनुभएको छ ।
महासंघको आज वीरेन्द्रनगरमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट पौडेलको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो । उपाध्यक्ष टिका गुरुङ, सचिवमा दिनेश चपाई, कोषाध्यक्षमा धर्मा सुवेदी, सहसचिवमा मन बहादुर कार्की चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा दुर्गा वि.क., प्रेम प्रसाद रिजाल, भूवनसिंह रामजाली र भद्रा कुमारी योगी हुनुहुन्छ ।
अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासंघका राष्ट्रिय उपाध्यक्ष कुलमणि देवकोटाले नागरिकको मौलिक हकका रुपमा रहेको खानेपानी तथा सरसफाई सम्बन्धी हकको व्यवहारिक कार्यान्वयनमा दबाव दिन महासंघले पैरवी गरिरहेको बताउनुभयो । महासंघ सबैका लागि र सधैंका लागि खानेपानी तथा सरसफाइ भन्ने मूल नाराका साथ अगाडी बढेको बताउँदै नागरिकको स्वच्छ खानेपानी र सरसफाइको हक सुनिश्चितताका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्नेमा देवकोटाले जोड दिनुभयो ।