सरसफाई र वृक्षारोपण गरेर मनाइयो होली

सुर्खेत, २२ फागुन ।


फागु पूर्णिमा अर्थात होली पर्व भन्ने वित्तिकै एक आपसमा रङ दलेर मनाउने पर्व बुझिन्छ । रङ्गहरुको पर्वका रुपमा चिनिने फागुपूर्णिमा अर्थात होलीमा पछिल्लो समय विभिन्न खालका विकृती विसंगती पनि भित्रिएको देखिन्छ । विशेषगरी युवाहरु सडकमा इच्छाविपरीत रङ र लोला हान्ने, अण्डा फोड्ने, गाडीको मोबिल दल्ने, हिलो लगाइदिने, रक्सि गाँजा, भांग, खाएर मातिने जस्ता गलत अभ्यासमा लागेको देखिन्छ । यता सुर्खेतको वीरेन्द्रनगरमा भने यस बर्षको फागुपूर्णिमा रङ अविरसंगै बृक्षारोपण र सरसफाई गरेर मनाइएको छ ।
‘क्लिन एण्ड ग्रीन सुर्खेत अभियान’ अन्तर्गत सोमबार विहान वीरेन्द्रगरको फोरलेन सडकको बीचमा लगाइएका बिरुवाहरुको गोडमेल र सरसफाई गरेर होली मनाइएको हो । ‘बृहत हरियाली होली’ नाम दिइएको उक्त कार्यक्रममा विभिन्न विद्यालयका विधार्थी, शिक्षक, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायत विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो । होलीका नाममा विकृति बढ्दै गएका बेला हरियाली होली अभियानमा सहभागी हुन पाउदा खुशी लागेको युवाहरुले बताएका छन् ।


‘क्लिन एण्ड ग्रीन सुर्खेत’ अभियानको बालरोग विशेषज्ञ डा.नवराज के.सीले नेतृत्व गरिरहनुभएको छ । पेशाले मेडिकल डाक्टर केसीले वातवरण प्रदुषणबाट लाग्ने रोगहरुबाट बचाउनका लागि सरसफाइ र वातावरण संरक्षणमा लाग्ने सोच पलाएको थियो । २०७५ सालदेखि सुरु गरिएको अभियान अन्तर्गत वीरेन्द्रनगरमा सरसफाई, बृक्षारोपण लगायतका कार्यक्रम गरिदै आइएको छ । होलीमा रंग पोतेर उत्सव मनाएजस्तै वीरेन्द्रनगरलाई हरित सहर बनाउने सन्देश दिनका लागि हरित होली कार्यक्रम आयोजना गरिएको डा. केसीले बताउनुभयो । ‘सुर्खेतको अनुहारमा हरियो रंग लगाउने उद्देश्यले कार्यक्रम गरेका हौँ’ डा. केसीले भन्नुभयो‘अव आउने पुस्ताले बुझेर यसलाई आत्मसाथ गर्नेछन र हरियाली सुर्खेत हुनेछ ।’
डा. केसीले केही विधार्थी र युवाहरुलाई साथ लगाएर सुरु गरेको अभियानमा अहिले धेरै मानिसहरु जोडिएका छन् । स्थानीय वीरेन्द्रनगर नगरपालिकाले पनि अभियानलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ दिँदै आएको छ । अभियानले हरित नगर बनाउने योजनामा सघाउ पुगेको नगरपालिकाका अधिकृत प्रकाश पौडेल बताउनुहुन्छ ।


पौराणिक मान्यता अनुसार अन्याय विकृति र गलत प्रवृतिको अन्त्य भएको उत्सवका रुपमा होली मनाइन्छ । त्यसैले आपसी सद्भाव र सहिषुणता कायमगरी सकरात्मक सन्देश दिएर होली मनाउदा पछिल्लो पिढीलाई विकृति तर्फ लाग्नबाट जोगाउन सकिने देखिन्छ ।