वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थाल्यो

सल्यान । वर्षा नभएपछि सल्यानका अधिकांश भागमा हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । पानी अभावमा गहुँ, जौ, चना, मसुरो लगायतका हिउँदेखेती खेतबारीमै सुक्न थालेका हुन् ।
शारदा नगरपालिका ६ खतिगाउँकी द्रुपती खत्रीले पानी नपर्दा सबै बाली सुकेको बताउनुभयो । अर्की किसान अमृता बस्नेतले अर्को सालका लागि बीउ पनि उठ्दैन जस्तो भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
वर्षा नहुदाँ हिउँदेबालीका साथै फलफूलका बोटबिरूवा पनि सुकेको किसानहरुको भनाई छ । सिँचाइ सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव परेको र यसले उत्पादनमा कमी आउने भन्दै किसानहरु चिन्तित बनेका हुन ।
कृषि विकास कार्यालयका अनुसार जिल्लामा करिब १४ हजार २०० हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदै आएको छ । अधिकांस ठाउँमा किसानहरुले आकासे पानीको भरमा कृषि गर्दै आएका छन ।