उद्योग वाणिज्य महासंघ कर्णालीमा पुनः शाही


सुर्खेत, २६ फागुन ।
नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको अध्यक्षमा पुन पदम बहादुर शाही निर्वाचित हुनुभएको छ ।
आज बिहीबार वीरेन्द्रनगरमा सम्पन्न महासंघको छैठौँ प्रदेशसभाबाट शाहीको नेतृत्वमा सर्वसंमत् नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्ष जिल्ला नगर तर्फ सल्यानका शुधन श्रेष्ठ र एसोशियट तर्फ सुर्खेतका हर्ष विक्रम खड्का र कोषाध्यक्षमा कालिकोटका भानुभक्त बराल चयन हुनुभएको छ । जिल्ला नगर तर्फ सदस्यहरुमा हुम्लाका नामग्याल तामाङ, सल्यानका कुमार बुढाथोकी, सुर्खेतका लक्ष्मी कार्की, दैलेखका कुमार प्याकुरेल तथा एसोशियटबाट खड्क बहादुर शाही र वस्तुगत तर्फबाट कमल नेपाल रहनुभएको छ ।
अध्यक्ष शाहीले समग्र कर्णालीका उधोगी व्यवसायीको हितका लागि काम गर्ने बताउनुभयो । प्रदेश र स्थानीय सरकार तथा उधोगी व्यवसायीबीचको दुरी घटाउनका पहल गर्ने शाहीले बताउनुभयो । उहाँले त्यस्ता किसीमका नीति बनाउनका लागि विज्ञहरुको सहभागितामा छलफल चलाउने पनि बताउनुभयो । कर्णालीमा सरकारले बनाउनुपर्ने पूर्वाधारको अवस्था कम्जोर हुँदा लगानी भित्रिन नसकेको प्रसंग उल्लेख गर्दै लगानी भित्र्याउनका लागि सरकारले ध्यान दिनुपर्ने उनले बताउनुभयो ।
छैठौँ प्रदेशसभाको उद्घाटनका क्रममा बोल्दै उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष चण्डिराज ढकालले उधोग बाणिज्य महासंघले अहिले व्यवसायीका मुद्धामा उचित पहल लिन नसकेको बताउनुभयो । आउदो नेतृत्व व्यक्तिगत स्वार्थमा नफस्ने, निडर व्यवसायीका विषय बुझेको व्यक्तिलाई छान्नुपर्ने उहाँको भनाइ छ ।
महासंघका जिल्ला नगर उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपाल उधोग बाणिज्य महासंघको अहिलेको नेतृत्वले सरकारसंग गम्भिररूपमा छलफल गर्न नसकेको जिकिर गर्नुभयो । राजनीतिक नेतृत्वले आफ्ना आसेपासेलाई पोस्न उद्धत रहेको र व्यवसायीका नेताहरु पनि आफ्नो व्यक्तित स्वार्थमा अल्झिएको ढकालको भनाइ छ । नियामक निकाय राष्ट्र बैंकको कम्जोरीले बैंकहरूले मनपरी गरेको उहाँले बताउनुभयो ।
महासंघका पूर्व कोषाध्यक्ष एवं केन्द्रीय सदस्य निरक केसीले राजनीतिक स्थिरता नहुदा अर्थतन्त्रमा समस्या आएको बताउनुभयो । जब सम्म राजनीति स्थिर हुँदैन तबसम्म अर्थतन्त्रसंग सम्बन्धित र अन्य विषय समाधान नहुने उहाँले बताउनुभयो ।