छाउगोठमै किशाेरी बनिन् सामुहिक बलात्कारकाे शिकार

सुर्खेत, २१ असार (जागरण) । सुर्खेतको बराहताल गाउँपालिकाकी एक किशोरी छाउगोठमै सामुहिक बलात्कृत भएकी छन् ।
महिनाबारी भएर घरदेखि टाढाको छाउगोठमा साथीसँग सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी हुन् ।
१५ वर्षीया ति किशोरीलाई स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरेको सुर्खेत प्रहरीले जनाएको छ ।
छाउगोठमा सुतिरहेकी किशोरीलाई सोमबार राति करिब १२ बजे चेतन गिरी, जनक शर्मा र पदम गिरीले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । तीनैजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । किशोरीको अहिले उपचार चलिरहेको छ । प्रहरीका अनुसार महिनावारी भएका दुई किशोरी घरदेखि टाढाको छाउगोठमा सँगै सुतेको थिए । तीमध्ये एकलाई राती छाउगोठबाट बाहिर निकालेर अर्कीमाथि बलात्कार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी उमाप्रसाद चतुर्वेदीले बलात्कारमा संलग्न तीनैजनालाई मंगलबार पक्राउ गर्न सफल भएको भन्दै थप अनुसन्धान जारी रहेको बताउनुभयो । बलात्कारमा संलग्न मध्ये पदम १४, चेतन १५ र जनक १८ वर्षका छन् ।
पीडितसँगै सुतेकी किशोरीले राति १२ बजेतिर आफूलाई छाउगोठबाट निकालिएको प्रहरीसमक्ष बयान दिएकी छन् ।
तीनजनामध्ये पदम गिरीले मलाई छाउगोठबाट बाहिर निकाल्यो, म डराएर खेतमा गएँ’, प्रहरीसमक्ष दिएको बयानमा ती किशोरीले भनेकी छन्, ‘सँगैकी साथीलाई बलात्कार गरेको, बिहानमात्रै थाहा पाएँ ।’
प्रहरीका अनुसार घरदेखि टाढाको ठाउँ भएकाले आफन्तले मंगलबार बिहानमात्रै घटनाका बारेमा जानकारी पाएका थिए । ‘आफन्तले घटनाबारे जानकारी दिनेबित्तिकै हामीले टोली खटाएका थियौं’, इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले भन्नुभयो, ‘गाउँमै लुकेर बसेका तीनैजनालाई पक्राउ गर्न सफल भयौं ।’
प्रहरीले बुधबार जिल्ला अदालतबाट म्याद थप गराएर घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ । सुर्खेतको पश्चिमी क्षेत्रमा पनि छाउपडी प्रथा व्याप्त रुपमा रहेको छ । केही गैरसरकारी संस्थाको सक्रियतामा छाउगोठ भत्काउने अभियान थालिएपनि प्रभावकारी भने हुन सकेको छैन ।