जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारार्थ भर्ना भएका एक बिरामी अस्पताल नजिकैको खोलामा मृत अवस्थामा फेला परेका छन् ।
तातोपानी गाउँपालिका– ५, लाम्राका ७३ वर्षीय लल्लु सार्की ६ दिनदेखि प्रतिष्ठानमा उपचार गराइरहनुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरका अनुसार आइतबार राति साढे १२ बजेको समयमा उहा अस्पतालको कम्पाउन्डदेखि बाहिर निस्किएको जानकारी प्राप्त भएको छ ।
अस्पताल बाहिर निस्केर उहा लडेको र बेहोस भएर खोलामै बसिरहँदा मृत्यु भएको हुन सक्ने अनुमान गरिएको प्रहरी निरीक्षक बुढामगरले जानकारी दिनुभयो ।
बिरामी हराएको जानकारी प्राप्त हुने बित्तिकै जिल्ला प्रहरी कार्यालय जुम्लाले खोजतलासका लागि प्रहरीको टोली परिचालन गरेको थियो ।
बिरामीका आफन्तहरुले भर्ना भएको बिरामी अस्पताल बाहिर निस्किनुमा अस्पतालको लापरबाही भएको आरोप लगाएका छन् ।