सुर्खेत । दुई महिनापछि कर्णाली प्रदेशसभाको बैठक बस्ने भएको छ ।
प्रदेशसभा सचिवालका सचिव जीवराज बुढाथोकीले चैत्र १२ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको जानकारी दिनुभयो ।
सरकारले बैठक आह्वानका लागि आइतबार प्रदेशसभालाई जानकारी गराएको थियो ।
यद्यपि अहिलेलाई एजेण्डाबिना नै बैठक आह्वान गरिएको छ । कुन विषयमा छलफल गर्ने भन्ने विषय सोही दिन १२ बजे बस्ने सर्वदलिय बैठकले निर्णय गर्नेछ ।
प्रदेशसभा लामो समयदेखि चल्न सकेको थिएन । यसअघि १८ पुसमा प्रदेशसभाको पहिलो बैठक बसेको थियो ।
सभामुख र उपसभामुख चयन बाहेक प्रदेशसभाले कुनै काम गर्न सकेन । १ माघमा सभामुख र ३ माघमा उपसभामुख चुनिएका थिए ।
६ माघमा मुख्यमन्त्री राजकुमार शर्माले संसदबाट विश्वासको मत लिनुभएको थियो । सभा अनिश्चितकालका लागि स्थगित भएको सोमबार दुई महिना पुगिसकेको छ ।