विद्यार्थी पाठुयपुस्तक नपढी परिक्षा दिँदै

सुर्खेत । सल्यानको बन्गाडकुपिण्डे नगरपालिका ४ गर्चेस्थित जय नेपाल आधारभूत विद्यालयका ६ देखि ८ कक्षासम्मका विद्यार्थी पुस्तक भए पनि विषयगत शिक्षकको अभावमा गत तीन वर्षदेखि पाठयपुस्तक नपढी परीक्षा दिन बाध्य भएका छन् ।
पहिला पढाउँदै आएका निजी स्रोतबाट भर्ना गरेका शिक्षकले छाडेका र पछि सम्बन्धित निकायले गणित र अंग्रेजी विषयगत शिक्षक भर्ना गर्नेमा चासो नदेखाएपछि विद्यार्थीहरू किताब नपढी परीक्षा दिन बाध्य भएका हुन् ।
पुस्तक भए पनि अंग्रेजी र गणित विषयको परीक्षा दिनु÷नदिनु बराबर भएको कक्षा ८ का छात्र विक्रम बुढाथोकीले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर रावतले निजी स्रोतबाट भर्ना गरेका एक शिक्षकले तलबको अभावमा विद्यालय छाडेपछि सम्बन्धित निकायले सुनुवाइ नगर्दा यस्तो अवस्था सिर्जना भएको उनले बताए ।
यता, मुगु जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी चउरमै बसेर वार्षिक परीक्षा दिन बाध्य छन
विद्यालयमा पर्याप्त डेस्कबेञ्चको सुविधा नहुँदा विद्यार्थीले चउरको धुलोमै बसेर परीक्षा दिन बाध्य भएका हुन ।
मुगुका सबै स्थानीय तहका विद्यालयमा आइतबारदेखि वार्षिक परीक्षा चलिरहेको छ ।
पूर्वाधार अभावका कारण चउरमै परीक्षा गराउनुपरेको शिक्षकहरूको भनाइ छ । वार्षिक परीक्षाजस्तो संवेदनशील विषय चउरमा गराउनु लापरबाही भएको स्थानीय अभिभावक कमानबहादुर शाहीले बताउनुभयो ।