हत्याको कसूरमा जन्मकैद

दैलेख । दैलेख जिल्ला अदालतले डेढ वर्ष अघि शिक्षकको हत्या गरेको कसूरमा गुराँस गाउँपालिका–८ मुकुट्ककी २८ वर्षीया मुना राना खड्कालाई आज जन्मकैद गरेको छ ।
जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट कसूरदार मुनालाई जन्मकैद र मुनाका पति २५ वर्षीय डम्बर खड्कालाई चाहिँ सफाई दिएको श्रेस्तेदार अधिकृत उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
कूरदारलाई जन्मकैद (२५ वर्ष) काराबास बस्नुपर्ने, पीडित पक्षलाई एक लाख रुपैंयाँ क्षतिपूर्ति तिर्नुपर्ने र पीडित राहत कोषमा २८ सय रुपैंयाँ जम्मा गर्नुपर्ने सजाय तोकिएको फैसलामा उल्लेख छ ।
आफ्ना छिमेकी मालिका मावि लालीकाँडा मुकुट्कका शिक्षक ४२ वर्षीय नगेन्द्रबहादुर बीसीको ०७८ भदौ २९ गते राति हत्या भएको थियो । आफू माथि यौनजन्य दुव्र्यवहार भएपछि धारिलो चक्कू प्रहार गरी हत्या गरेको मुनाको भनाई छ ।
घटनाको बेला सुर्खेतमा रहेका मुनाका पति डम्बरलाई मुनाले हत्या घटना लगतै मोवाइलबाट जानकारी गराएको बेला ‘भागेर आऊ म लुकाउने प्रयास गरौंला’ भनी मेसेज गरेको आधारमा डम्बरलाई समेत हत्या अभियोगमा कारागार थुनामा राखिएको थियो ।
मुनाले शिक्षक नगेन्द्रबहादुरका हत्या गरेको समयताका सुर्खेतमा हुनुहुन्थ्यो । डम्बर घटना भन्दा २ वर्षदेखि सुर्खेतको एक होटलमा काम गर्नुहुन्थ्यो । ‘लुकाउने प्रयास गरौंला’ भनी मुनालाई मेसेज लेखेकै आधारमा हत्या अभियोगमा उहाँ डेढ वर्ष थुनामा बसेर आज मात्र सफाई पाउनुभएको हो ।
मृतकको शव घटनाको भोलिपल्ट अर्थात भदौ ३० गते दैलेख अस्पतालमा शव परीक्षण गरिएको थियो । पीडित पक्षको उजुरी र प्रहरीले घटनाको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालयले ०७८ कात्तिक ४ गते दैलेख जिल्ला अदालतमा कर्तव्यज्यान अभियोग दर्ता गराएको थियो । अभियोग सम्वन्धमा कात्तिक ५ गते भएको थुनछेक बहसपछि तत्कालिन जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट थुनामा राख्ने आदेश अनुसार आरोपित मुना र डम्बरलाई जिल्ला कारागारमा राखिएको थियो ।