पोषणलाई प्राथमिकता दिने सिम्ताको प्रतिबद्धता


सुर्खेत, १० चैत ।
सुर्खेतको सिम्ता गाउँपालिकाले पोषणसम्बन्धीका कार्यक्रमहरुलाई बृद्धि गर्ने भएको छ ।
गाउँपालिकाले आगामी बर्षका योजना तथा कार्यक्रममा पोषणलाई प्राथमिकता दिने भएको हो ।
सुआहारा कार्यक्रमसंगको सहकार्य, जागरण एफ.एम सुर्खेतको सहजीकरणमा गाउँपालिकाले शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले पोषण तथा स्वास्थ्य सम्बन्धीका कार्यक्रम बृद्धि गर्नुपर्ने माग गरेपछि गाउँपालिकाले प्रतिबद्धता जनाएको छ । पोषणको अवस्था राम्रो भएमात्र दक्ष नागरिक तयार हुनेकुरामा आफू सहमत भएकाले पोषणका कार्यक्रमलाई प्राथमिकता दिने गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले बताउनुभयो । यस्तै गाउँपालिकाको सेवालाई थप प्रभावकारी बनाउनका लागि जनताको सुझावहरुलाई ग्रहण गरेर अघि बढ्ने अध्यक्ष चन्दले बताउनुभयो । उपाध्यक्ष गोमा शर्मा रेग्मीले गाउँपालिकाले पोषण बृद्धिका लागि हजार दिनका आमाहरुलाई कुखुरा वितरण, निशुल्क भिडियो एक्सरे सेवा, उपाध्यक्ष कोसेली लगायतका कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । साथै आगामी बर्ष पोषणका कार्यक्रमलाई थप गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा पालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउका लागि विभिन्न ८ बुँदे लिखित प्रतिबद्धता गरिएको छ । समयमै औषधि खरिद गर्ने, विद्यालय मार्फत किशोरीहरुलाई आइरनचक्की वितरण प्रभावकारी बनाउने, गाउँपालिका अन्तर्गतका सहायक सडकहरुलाई नियमित रुपमा मर्मत संभार गर्ने, बाल विवाह लगायत सबै प्रकार विभेद अन्त्य गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर रानाले कार्यालयको सेवाप्रवाहलाई चुस्त द्रुस्त बनाउने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा वडाअध्यक्षहरु तथा गाउँपालिका अन्तर्गतका शाखा प्रमुखहरुले सहभागीका प्रश्नहरुको जवाफ दिनुभएको थियो ।

सहभागीहरुले विकास निर्माणलाई थप गुणस्तरीय बनाउनुपर्ने, गाउँपालिका र वडा कार्यालयबाट सञ्चालन गरिने कार्यक्रमहरुको बारेमा जानकारी गराउनुपर्ने, शिक्षाको गुणस्तरका लागि योजना बनाउनुपर्ने, लक्षित वर्ग कार्यक्रमहरुलाई थप गर्नुपर्ने, सबै ठाउँमा विधुत सेवा पु¥याउनुपर्ने लगायतका सुझाव दिएका छन् । सुशासन विज्ञ डा. दिपेश घिमिरेले सेवा प्रदायक कार्यालयहरु सधैँ सेवाग्राहीप्रति जवाफदेहि हुनुपर्ने बताउँदै सिम्ता गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्नु सकरात्मक भएको बताउनुभयो । सुआहारा कार्यक्रमका फिल्ड संयोजक रेशम चन्दले पोषण सुधारका लागि स्थानीय सरकारहरुले ध्यानदिनुपर्ने बताउनुभयो ।