कर्णाली प्रदेशमा क्षयरोगीका बिरामी घट्दै

सुर्खेत । कर्णाली प्रदेशमा क्षयरोगीका बिरामी घट्दै गएका छन । विगतको बर्षहरुको तुलनामा प्रदेशमा क्षयरोगीका बिरामी घट्दै गएका हुन ।
पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा कर्णाली प्रदेशभर क्षयरोगीको संख्या घट्दोक्रममा देखिएको छ ।
स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले दिएको विवरण अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा क्षयरोगका बिरामीको संख्या एक हजार ६ सय ५२ थियो ।
निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीका अनुसार चालु आर्थिक वर्ष २०७९÷०८० को यो अवधिमा बिरामीको संख्या घटेर सात सय रहेको छ । जिल्लागत तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षयरोगका बिरामी सुर्खेतमा छन् ।
यो वर्षको ६ महिनामा सुर्खेतमा दुई सय ४५ क्षयरोगी भेटिएका सूचना अधिकारी केसीले जानकारी दिनुभयो ।
यस्तै, क्षयरोगका सबैभन्दा कम ६ जना क्षयरोग बिरामी हुम्लामा रहेका छन् । सल्यानमा एक सय २४, रूकुम–पश्चिम ७६, दैलेखमा ७२, जाजरकोटमा ५५, कालिककोटमा ३९, जम्लामा ४९, मुगुमा १८ र डोल्पामा १६ जना क्षयरोगी बिरामी रहेकोे निर्देशनालयले जनाएको छ ।
सूचना अधिकारी केसीले निर्देशनालयले पछिल्लो समय समुदायलाई क्षयरोग निधानमा जोड दिइएकाले प्रदेशमा क्षयरोगीको संख्या घट्दोक्रममा रहेको बताउनुभयो ।
केही वर्षयता क्षयरोगका बिरामीको उपचारमा सन्तोषजनक सफलता प्राप्त भएको निर्देशनालयको दाबी छ । सूचना अधिकारी केसीले क्षयरोग निवारणका लागि हाल समुदायमा नै गएर क्षयरोग हेरचाह गर्ने गरेको बताउनुभयो ।