
सुर्खेत, १२ चैत ।
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले देश कहाली लाग्दो आर्थिक समस्यामा फस्दै गएको तर अहिलेको सरकारले त्यसको कुनै प्रवाह नगरेको बताउनुभएको छ ।
सुदुरपश्चिम प्रदेशको अछाम जानेक्रममा आज सुर्खेत विमानस्थलमा प्रेस चौतारी नेपाल सुर्खेत शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा पौडेलले वर्तमान सरकार देशका समस्या समाधान भन्दा पदबाँडफाँडमा केन्द्रीत रहेको बताउनुभएको हो । देश कल्पनाभन्दा बाहिरको आर्थिक समस्यामा फस्दै गएता पनि सरकारले त्यस बारेमा केही पनि नसोचेको पौडेलले जिकिर गर्नुभयो । हालसम्म पनि अर्थमन्त्री नियुक्त नगर्नुले सरकार त्यसबारे गम्भिर नभएको पुष्टि हुने पौडेलको जिकिर छ ।
यस्तै विश्वासको मत पाएको लामो समय बित्दा पनि गठबन्धनले मन्त्रिमण्डल विस्तार नगरेर तमासा गरिरहेको बताउनुभएको छ । उहाँले अहिलेको प्रतिनिधिसभाबाट राजनीतिक स्थायित्व कायम नहुने स्पष्ट देखिएको पनि बताउनुभएको छ । राजनीतिक स्थायित्व र विकासका लागि आगामी निर्वाचनबाट एमालेले एकल बहुमत प्राप्त गर्नुपर्छ भन्ने बुझाइका साथ आफूहरु पार्टीका गतिविधिमा केन्द्रीत भएको पौडेलले बताउनुभयो । पौडेल एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानका क्रममा सुदुरपश्चिम जानुभएको हो ।

