सुर्खेत, १२ चैत ।
वीरेन्द्रनगर नगरपालिकाले आगामी बर्षका नीति, कार्यक्रम तथा योजनामा पोषणलाई प्राथमिकता दिने भएको छ ।
वीरेन्द्रनगरपालिकाको पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको आइतबार बसेको बैठकले आगामी आर्थिक बर्षदेखि वस्तीस्तरका योजना तर्जुमादेखि नै पोषण तथा खाद्य सुरक्षाका कार्यक्रमलाई प्राथमिकता दिने निर्णय गरेको हो । नगर प्रमुख तथा समितिका अध्यक्ष मोहनमाया ढकाललको अध्यक्षतामा बसेको बैठकले १६ वटै वडाहरुमा वडास्तरीय पोषण तथा खाद्य सुरक्षा समितिको पुर्नगठन गरी अभिमुखीकरण गर्ने पनि निर्णय गरेको छ । बैठकमा नगरपालिकाको पोषण अवस्थाको विश्लेषण गरि कम्जोर देखिएका सुचकहरुलाई सुधारका लागि कार्ययोजना निर्माणगरी कार्यन्वयन गर्ने पनि निर्णय गरिएको छ । नगरप्रमुख ढकालले स्थानीय सरकारले विकास निर्माण भन्दा पनि जनजीवनसंग प्रत्यक्ष जोडिएका सेवा प्रवाहलाई ध्यान दिनुपर्ने संविधानको मर्म रहेको भन्दै महिला, बालबालिका, स्वास्थ्य, पोषण लगायत सुरक्षित वीरेन्द्रनगर निर्माणमा प्रतिबद्ध रहेको बताउनुभयो । बैठकका प्रमुख अतिथि जिल्ला समन्व्य समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले पोषण सुधारका लागि स्थानीय सरकारले उचित योजना बनाएर कार्यन्वयन गर्न आवश्यक रहेको औँल्याउनुभयो । कार्यक्रममा सुआहारा कार्यक्रमका निर्देशक विश्वरमण अधिकारीले सरकारले कुपोषणरहित वडा गाउँ घोषणा निर्देशिका, पोषणमैत्री स्थानीय तह कार्यान्वयन निर्देशिका, पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका लगायत निर्माण गरेको स्मरण गराउँदै त्यसको कार्यान्वयनका लागि स्थानीय सरकारहरुलाई आग्रह गर्नुभयो । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेलले वीरेन्द्रनगरको पोषण सुधारका लागि निजी क्षेत्र हातेमालो गर्न तयार रहेको बताउनुभयो ।