काँग्रेस पार्टी छोडेको स्वर्णिम वाग्लेको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका बौद्धिक नेता एवं अर्थशास्त्री स्वर्णिम वाग्लेले पार्टी छाडेको घोषणा गर्नुभएको छ । उहाले सामाजिक सञ्जालमार्फत् पार्टीबाट अलग भएको घोषणा गर्नुभएको हो ।
कांग्रेस विगत ५० वर्षदेखि पारिवारिक विरासतबाट गाँसिएको उहाको आरोप छ । ’वि.स. २०४२ सालको ’सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छ ु। त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्षरूपमा आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें,’ उहाले भन्नुभएको छ ।
उहाले कांग्रेस अहिले दाइ भाउजु साला भतिजको अक्षम गिरोहमा परिणत भएको आरोपसमेत लगाउनुभएको छ । ’विशेषतः योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ । तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ । जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ,’ उहाले भन्नुभएको छ ।
उहाले अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्ने बताउनुभयो ।
’सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु । आम नैराश्य चिरेर ’यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो,’ उहाले भन्नुभयो ।