फेरि पनि सत्ता राजनीतिको खेलमा कर्णाली


सुर्खेत, १७ चैत ।
पहिलो कार्यकालमा सत्ता राजनीतिका लागि फ्लोरक्रसजस्ता गलत अभ्यासमा रुमलिएको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालमा पनि सत्ता स्वार्थका खेलहरु शुरु भएका छन् ।
सरकार बनेको तीन महिना नवित्दै मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत लिनुभएको छ भने विश्वासको मत लिने प्रक्रिया अझै केही समय चल्ने देखिएको छ ।
शुक्रबार कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पट्क विश्वासको मत पाउनुभएको छ । यसअघि विश्वासको मत दिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रदेशभामा पुनः विश्वासको मत मागेका शर्मालाई ३८ जनाले विश्वासको मत दिएका हुन् ।
नेपाली काँग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, एकीकृत समाजवादी र स्वतन्त्र एक–एक जनागरी ३८ जनाले मुख्यमन्त्री शर्माको समर्थनमा मत दिएका छन् । ४० सदस्यीय प्रदेशसभामा सभामुख बाहेक ३९ जनाले मतदान गरेका थिए त्यसमध्य राप्रपाका एक जना सांसदले मात्रै विपक्षमा मतदान गरेका छन् ।
पुस २७ गते मुख्यमन्त्री नियुक्त शर्मालाई माघ ६ गते माओवादी केन्द्रका १३ सांसद, एमालेका ९, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र एक–एक गरी २५ जनाले विश्वासको मत दिएका थिए । प्रधानमन्त्री र अन्य प्रदेशमा माओवादीका मुख्यमन्त्रीलाई काँग्रेसले विश्वासको मत दिएपनि कर्णालीमा भने मत दिएको थिएन् ।
संघीय सरकारमा फेरिएको सत्ता समिकरणका कारण सरकारबाट एमाले बाहिरिएपनि कर्णालीमा भने समर्थन फिर्ता लिएको छैन । एमाले नबाहिरिँदै काँग्रेसको पनि विश्वासको मत पाएपछि कर्णालीको सरकार कसरी अगाडी बढ्छ भन्ने चासोको विषय बनेको छ ।
विश्वासको मत पाएर प्रदेशसभाबाट बाहिरेक्रममा मुख्यमन्त्री शर्माले आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने छलफलपछि मात्रै बताउने प्रतिक्रया दिनुभयो ।
यता सरकारबाट नबाहिरिदै मुख्यमन्त्रीलाई काँग्रेसले पनि विश्वासको मत दिएपछि एमालेलाई पनि सरकारबाट बाहिरने की बसीराख्ने भन्ने निर्णय गर्नुपर्ने अवस्था आएको छ । आफूहरु सरकारमै रहेकाले विश्वासको मत दिनु स्वभाविक भएको एमालेको जिकिर छ । आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने मुख्यमन्त्रीमा निर्भर हुने एमाले संसदीय दलका नेता यामलाल कंडेलले बताउनुभयो ।
विश्वासको मत दिनुअघि प्रदेशसभामा बोल्ने क्रममा काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले मुख्यमन्त्रीलाई संकट अवस्था आएमात्रै विश्वासको मत दिने उद्घोष गर्नुभएको थियो । तर उहाँ आफ्नो बचनमा केही मिनेट पनि टिक्न सक्नुभएन । एमाले र माओवादीकै सांसदहरुले मत दिएपछि पर्याप्त हुँदा हुँदै अन्तिममा काँग्रेसका सांसदहरुले पनि विश्वासको मत दिए । केन्द्रको सत्ता समिकरण अनुसार निर्देशनका कारण बाध्यताले मत दिनुपरेको नेता शाहीले प्रतिक्रिया दिनुभयो ।
सरकार गठन भएको तीन महिना नवित्दै दोस्रो पटक विश्वासको मत लिएका मुख्यमन्त्री शर्माले संभव त छिटै तेस्रो पटक विश्वासको मत लिनुपर्नेछ । समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा आफ्नो पक्षमा सर्थन देखाउनुपर्ने प्राब्धान अनुसार एमालेले समर्थन फिर्ता लिएमा पुन मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ । प्रदेश संरचना खारेजीको आवाजहरु उठ्न थालिरहकै बेला बेला दलहरु सत्ता राजनीतिमै अलमलिनुले त्यसलाई थप बल पुगेको छ ।