सेवालाई प्रभावकारी बनाउन चिङ्गाडका पाँच प्रतिबद्धता


सुर्खेत, ४ बैशाख ।
सुर्खेतको चिङ्गाड गाउँपालिकाले सेवालाई थप प्रभावकारी एवं गुणस्तरीय बनाउनका लागि विभिन्न पाँच बुँदे प्रतिबद्धता गरेको छ ।
आइतबार आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकाका जनप्रतिधि र कर्मचारीहरुले आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता गरेका हुन् । योजना छनौटका सात चरणको पूर्ण पालना गर्ने, पालिका अन्तर्गतका सबै कार्यालयमा समयको पालना गराउने, पोषण सुधारका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गर्ने, वडा कार्यालयहरुमा नागरिक वडापत्र राख्ने तथा सबै वडा र पालिकामा नियमित रुपमा सार्वजनिक सुनुवाईको आयोजना गर्ने लिखित प्रतिबद्धता गाउँपालिकाले गरेको छ । कार्यक्रममा सहभागीहरुले पोषण सुधारका लागि योजना तथा कार्यक्रम बनाउनुपर्ने, योजना छनौटमा वस्तीस्तरमा जानुपर्ने, टोल विकास संस्था गठन गर्नुपर्ने, विकास निर्माणमा गुणस्तरीयता कायम गराउनुपर्ने, खानेपानीको सुविधा सबै ठाउँमा पु¥याउनुपर्ने, अस्पताल तथा गाउँपालिकाको प्रशासनीक भवन निर्माण गर्नुपर्ने लगायतका जिज्ञासा एवं सुझाव राखेका थिए । सहभागीहरुका जिज्ञासाको जवाफ दिँदै गाउँपालिका अध्यक्ष बोधविक्रम जि.सी.ले सेवाग्राहीका सुझावलाई ग्रहण गरेर आगामी दिनमा सेवा तथा विकास निर्माणलाई थप व्यवस्थित गर्ने प्रतिबद्धता जनाउनुभयो । जनभावना अनुसार आफू अघि बढ्ने प्रतिबद्धता जनाउँदै त्यसका लागि साथ दिन पनि अध्यक्ष जिसीले आग्रह गर्नुभयो । उपाध्यक्ष मिना कुमारी रोकायले विकास निर्माणमा गुणस्तरीयता कायम गर्न अनुगमनलाई जोड दिइएको बताउँदै आगामी दिनमा अझै कडाई गर्ने बताउनुभयो । गाउँपालिकाका सबै नागरिकको समावेशी एवं समानुपातिक विकासका लागि विशेष योजना बनाउने उहाँले प्रतिबद्धता जनाउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर घर्तीले गाउँपालिकाको सेवालाई चुस्त दु्रस्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।