विश्वकप क्रिकेट छनोटको प्ले अफमा नेपालको जीत

काठमाण्डौँ, १ चैत (जागरण) । नेपालले विश्वकप क्रिकेट प्रतियोगिता छनेाटको प्ले अफमा पपुवा न्यूगिनीमाथि ६ विकेटको जित हात पारेको छ । दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसँगै नेपालले जितेको हो । पपुवा न्यूगिनीलाई १ सय १४ रनमा समेटेको नेपालले मात्र २३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
पपुवा न्यूगिनीको चार विकेट लिएका ऐरीले अर्धशतक पारी खेल्दै नेपाललाई जिताउनुभयो । उहाँले छक्का हान्दै ५० रन पुरा गर्नुभएको हो ।
नेपालको सुरुवात भने राम्रो रहेन । १३ रन जोड्दा दुबै ओपनर आउट भइसकेका थिए । मल्ल १ र अनिलकुमार साह मात्र ९ रनमा आउट हुनुभयो ।
थप २२ रन जोड्दा कप्तान पारस खड्का पनि व्यक्तिगत २० रनमा आउट हुनुभयो । तर, दिपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि आरिफ शेखसँग ६७ रनको साझेदारी गर्दै जितको आधार तयार पार्नुभयो । शेख व्यक्तिगत २६ रनमा आउट हुनुभयो । ऐरी ५० रनमा अविजित रहनुभयो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ओभरमा सबै विकेट गुमाएर १ सय १४ रन बनायो । मात्र ४ दशमलव २ ओभर बलिङ गरेका ऐरीले १४ रन दिनुभएको थियो भने लामिछानेले ८ ओभर बलिङ गर्दै २९ रन खर्चिनुभएको थियो ।
नेपाली बलरहरु हाबी भएको खेलमा पपुवा न्यूगिनीका ब्याट्सम्यानहरुले ठूलो पारी खेल्न सकेनन् । नेपालका सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान ४/४ विकेट लिनुभयो ।
करण केसी र सोमपाल कामीले एकएक विकेट लिनुभएको छ । हारसँगै पपुवा न्यूगिनीले एकदिवसीय मान्यता गुमाएको छ ।