सरकार भागवण्डाको गोलमालमा फसेकाे छ: एमाले उपाध्यक्ष नेम्वाङ


सुर्खेत,५ बैशाख ।
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेवाङले वर्तमान सरकार मूलुक र जनताका समस्या समाधान गर्ने भन्दा पनि सत्ता भागबण्डामै अल्झिएको बताउनुभएको छ ।
एमालेले सञ्चालन गरेको संगठन सुदृढीकरण तथा विस्तार (मिसन ग्रासरुट) अभियानको कर्णाली प्रदेशस्तरीय समीक्षा पछि मंगलबार सुर्खेतमा आयोजना गरिएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष नेवाङले सरकार पदवाँडफाँडको गोलमालमा फसेको टिप्पणी गर्नुभएको हो । यस्तै सरकारले संसदलाई विजनेश दिन नसक्दा संसद कामविहिन भएको नेम्वाङले बताउनुभयो । सरकारले प्रधानन्यायधिशसम्म नियुक्त गर्न नसकेर अदालतलाई लजित बनाउने काम गरेको उहाँले जिकिर गर्नुभयो ।
मिसन ग्रासरुट अभियानका सन्दर्भमा उपाध्यक्ष नेम्वाङले अभियान सफल निश्कर्षमा पुगेको उद्घोष गर्नुभयो । एउटा अभियान सकिएपनि जनतामाझ पुग्ने यस्ता अभियान निरन्तर सञ्चालन गर्ने उहाको भनाइ छ ।
यस्तै महासचिव शंकर पोख्रेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसंगको सत्ता गठबन्धन टुटाएर माओवादीलाई नै धोका दिएको जिकिर गर्नुभयो । एमालेसंगको गठबन्धन नयाँ जनादेश अनुसारको सबभन्दा अनुकुल गठबन्धन भएपनि प्रचण्डले त्यसलाई थेग्न नसकेको महासचिव पोख्रेलको भनाइ छ । माओवादी आन्दोलनको भविष्य प्रचण्डै कै कारण धरापमा पर्दै गएको पनि उहाँले जिकिर गर्नुभएको छ ।
मूलुकको विकास समृद्धिका र राजनीतिक स्थायित्वका लागि एमालेलाई बलियो पार्टीका रुपमा स्थापित गर्नुपर्ने महासचिव पोख्रेलको भनाइ छ ।
यस्तै मिसन ग्रासरुट अभियानको कर्णाली प्रदेश स्तरीय समीक्षा बैठक मंगलबार सकिएको छ । बैठकमा अभियनका कर्णाली प्रदेश संयोजक योगेश भट्टाईले कर्णालीमा एमाले पार्टी समानुपातिक तर्फको मतका आधारमा पहिलो पार्टी भएपनि गठबन्धनका कारण प्रत्यक्ष तर्फ पछाडी परेको उल्लेख गर्नुभयो । अभियानबाट प्राप्त अनुभवबाट संगठन सुदृढीकरणमा लाग्न नेता कार्यकर्ताहरुलाई सुझाव दिनुभएको छ । बैठकमा एमालेका उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेल, स्थायी कमिटि सदस्यहरु शिवमाया तुम्बाहाम्फे, विन्दा पाण्डे, गोरख बोगटी लगायतको उपस्थिति रहेको थियो ।