बालबालिकाकाे सवालमा कर्णाली प्रदेश सरकारकाे ध्यानाकर्षण 

जागरण संवाददाता ।

कर्णालीका बालबालिकाहरुले मुख्यमन्त्री राजकुमार शर्मालाई बालबालिका विभिन्न सवालमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
कर्णाली प्रदेश बाल क्लब सञ्जालले शुक्रबार बालबालिकाका विभिन्न साझाव सवाल सम्बोधनका लागि मुख्यमन्त्री शर्मालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
बाल विवाह रोक्नुपर्ने, सामाजिक कुसंस्कारको रुपमा रहेको छाउपडी प्रथा, डोल्पा जिल्लामा रहेको चमुआनी प्रथा उन्मुलन गर्नुपर्ने, अपाङ्गता भएका बालबालिकाको मैत्रीपूर्ण तथा समावेशी संरचना निर्माणमा ध्यान दिनुपर्ने बालबालिकाहरुको माग छ । यस्तै यौनिक, लैगिंक तथा यौन विशेषता रहेका बालबालिकाहरुको समावेसी र मैत्रीपुर्ण वातावरण बनाउनुपर्ने, बढ्दो घरेलु तथा लैङ्गिक विभेद र असमान व्यवहार अन्त्य गर्नुपर्ने जोखिमपूर्ण र निकृष्ट बाल श्रम तथा बाल यौन शोषण तथा दूव्र्यवहार अन्त्यका लागि सरकारले उचित कार्यक्रम बनाउन बालबालिकाहरुले मुख्यमन्त्रीसंग आग्रह गरेका छ ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री शर्माले कर्णाली प्रदेश सरकार बालबालिकाको सवालमा संवेदनशील रहेको भन्दै आगामी दिनमा योजना बजेट तथा कार्यक्रममा बालबालिकाकाले उठाएका सवाललाई सम्बोधन गर्ने बताउनुभयो ।
यस्तै सञ्जालले शुक्रबार नै  कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीलाई पनि ध्यानाकर्षण पत्र बुझाएका छन् ।
बालअधिकारको सुनिश्चिता सहित कर्णाली प्रदेश सरकारले लिएको समृद्धिको नारा “समृद्ध कर्णाली ः सुखारी कर्णालीवासी” लाई मुर्तरुप दिन उनीहरुले माग गरेका छन् ।
बालबालिका सम्बन्धी ऐनमा भएको प्रावधानको कार्यान्वयन गर्ने तथा आवश्यकता अनुसार प्रदेशमा बालबालिका कानून निर्माण र कार्यान्वयन गर्नुपर्ने, प्रदेश बालअधिकार समिति गठन गर्नुपर्ने, बालबालिका सम्बन्धी प्रदेश बाल कोष स्थापना गरी प्रभावकारी कार्यन्वयन गर्नुपर्ने, प्रदेशमा बालसंरक्षणका लागि उपलब्ध स्रोतहरूको नक्साङ्कन सहित बालसंरक्षण सिफारिश प्रणालीको स्थापना तथा कार्यान्व्यन गर्नुपर्ने बालबालिकाको सुझाव रहेको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै उपाध्यक्ष शाहीले बालबालिकालाई ध्यान नदिएसम्म समृद्ध प्रदेशको नारा सफल नहुने भन्दै योजना निर्माणमा ध्यान दिने बताउनुभयो ।