सुर्खेत, १६ बैशाख ।
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
शुक्रबार आज प्रदेशसभाको १४ औँ बैठकबाट उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो ।
मुख्यमन्त्री शर्माले प्रदेशसभा बैठकमा आफ्नो पक्षमा विश्वासको मत दिनका प्रस्ताव पेश गर्नुभएको थियो । मतदानपछि मुख्यमन्त्री शर्माले गर्नुभएको प्रस्ताव बहुमतका साथ पारित भएको सभामुख नन्दा गुरुङ्गले बैठकमा जानकारी गराउनुभएको थियो ।
मुख्यमन्त्री शर्मालाई आफ्नो दल माओवादी केन्द्रको १३, नेपाली कांग्रेसको १४, समाजवादीको १ र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् । नेकपा एमालेका ९ र राप्रपाका एक सांसदले भने विपक्षमा मतदान गरेका छन् ।
यससंगै शर्माले करिब सय दिनमा तीन पटक प्रदेशसभाबाट विश्वासको मत लिनुभएको छ ।
पहिलोपटक माघ ६ गते विश्वासको मत लिनुभएको थियो । त्यसबेला एमाले, राप्रपासहितको विश्वासको मत प्राप्त गरेका थिए भने कांग्रेसले विपक्षमा मतदान गरेको थियो । राप्रपाले समर्थन फिर्ता लिएपछि पुन चैत्र १७ गते दोस्रो पटक विश्वासको मत लिनुभएको थियो ।
त्यो बेला राप्रपा बाहेकका सबै दलले समर्थन गरेका थिए । तर, राष्ट्रिय राजनीतिकको समीकरण अनुसार कांग्रेस–माओवादीको सरकार बन्ने भएपछि २७ चैत्रमा एमालेले समर्थन फिर्ता लिएको थियो । एमालेले समर्थन फिर्ता लिएपछि पुन तेस्रो पटक विश्वासको मत लिनुभएको हो ।