सुर्खेत, १७ बैशाख ।
कर्णाली प्रदेशमा ‘कर्णाली मानसिक स्वास्थ्य कार्यव्रmम’ सञ्चालन भएको छ । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सी.एम.सी.) नेपालले उक्त कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रमले बालबालिका, किशोर किशोरी लगायतका मानसिक स्वास्थ्य समस्या तथा मनोसामाजिक अपाङ्गता भएका तथा त्यसको जोखिममा रहेका व्यक्तिहरुको जीवनस्तर सुधार्न तथा अर्थपुर्ण सहभागिता बढाउनका लागि काम गर्ने छ ।
मानसिक स्वास्थ्य समस्या र मनोसामाजिक अपाङ्गता भएका वा त्यसको जोखिममा रहेका व्यक्तिहरूको सन् २०२६ सम्ममा गुणस्तरीय मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवाहरू, राज्यबाट पाउने हक अधिकार, जीविकोपार्जनका पहलहरू र सामुदायिक मञ्चमा अर्थपूर्ण सहभागितामा पहुँचका माध्यमबाट समावेशीकरण र जीवनको गुणस्तरमा सुधार ल्याउने कार्यक्रमको उद्देश्य रहेको सिएमसीका कार्यक्रम संयोजक लक्ष्मण नाथले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रम दैलेखका आठबीस, नारायण, दुल्लु नगरपालिका, नौमुले र गुराँस गाँउपालिका, रुकुम पश्चिमका मुसिकोट नगरपालिका र सानो भेरी गाउँपालिका भेरीगंगा नगरपालिका, सुर्खेतका बराहताल र सिम्ता गाउँपालिकामा लागू हुनेछ ।
कार्यक्रम अन्तर्गत विद्यालय नर्सहरुको क्षमता अभिबृद्धि, एक द्वार संकट व्यवस्थापन केन्दको क्षमता विकास, आत्महत्या रोकथाम, पुर्नस्थापना सहयोग, मास कन्भर्जन व्यवस्थापन, मातृ मानसिक स्वास्थ्य कार्यक्रम, स्वास्थ्य कर्मीको तालिम तथा सुपेरिवेक्षण , स्वावलम्बन समूहको स्वपैरवी र संस्थागत विकासकालागि क्षमता वृद्घि गरिनेछ ।
कार्यक्रम सञ्चालन गरिएपछि पालिकाको प्राथमिक स्वास्थ्य सेवामा एकीकृत भएको तथा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य लाई प्रबर्धन गर्नका लागि पालिकाका विद्यमान् योजना र नीतिलाई बजेट विनियोजनका साथ परिमार्जन हुने अपेक्षा परियोजनाले गरेको छ । यस्तै गुणस्तरीय मानसिक स्वास्थ्य र मनोसामाजिक सेवाहरू प्रदान गर्नका लागि स्थानीय सरकारको स्वास्थ्य प्रणालीलाई सुदृढ हुने अपेक्षा गरिएको छ ।
परियोजना अन्तर्गत स्वास्थ्य संयत्रको सशक्तिकरण गर्ने, चेतना बढाउने तथा लान्छना घटाउने कार्यक्रमहरु सञ्चालन गर्ने,स्ववलम्बन समूह र सञ्जालहरूको क्षमता अभिवृद्धि
गर्ने, स्वास्थ्यकर्मीका लागि तालिम गर्ने तथा सुपेरिवेक्षण गर्ने, मुख्य सरोकारवाला तथा स्वावलम्बन समूहका सदस्यहरुका लागि मानसिक स्वास्थ्य सम्बन्धि सचेतना तथा तालिम संचालन गरिने कार्यक्रम संयोजक नाथले जानकारी दिनुभयो । यस्तै विद्यालय मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवर्धन कार्यक्रम संचालन गर्ने तथा शिक्षहरुका लागि तालिम तथा सुपेरिवेक्षणको व्यवस्था गर्ने क्रियाकलाप रहेका छन् ।
परियोजनाबाट प्रत्यक्ष रुपमा मानसिक स्वास्थ्य समस्या भएका र मनोसामाजिक अपाङ्गता भएका वा त्यसको जोखिममा रहेका बालबालिका तथा किशोर किशोरी गरी तीन हजार पाँच सय जना लावान्वित हुने जनाइएको छ । यस्तै अप्रत्यक्ष रुपमा स्वास्थ्यकर्मी शिक्षक , महिला स्वास्थ्य स्वयम सेविका, धामी झाँक्री, आमा समूह तथा समुदायका अन्य समूह, जनप्रतिनिधि र सरकारी कर्मचारी लावान्वित हुनेछन् ।