यार्सागुम्बा खोज्न गएका जुम्लाका तीनजनाको मृत्यु

बैशाख २४, सुर्खेत । मुगुको पाटनमा यार्सा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीनजनाको मृत्यु भएको हो ।
पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो ।
यार्सागुम्बा संकलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य सामान्य घाइते भएका छन् । दुईजना सकुशल छन् ।
उनीहरूको उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकारलाई जानकारी गराएको उपाध्यक्ष रोकायाले बताउनुभएको छ ।
शनिबार दिउँसो खबर आएसँगै इलाका प्रहरी चौकी मुगुबाट प्रहरीको टोली घटनास्थलतर्फ गइसकेकाले घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो ।
यार्सागुम्बा संकलनका लागि गाउँपालिकाले आगामी जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने भनिए पनि त्यो सूचनालाई छलेर अहिले सयौँ व्यक्ति अर्कै बाटो हुँदै मुगुको पाटनमा पुगेका छन्। बेपत्ता भएका तीन जनासहितको टोली पनि अर्कै बाटो भएर पाटनमा पुगेको थियो ।