आगलागीमा परी दैलेखमा १२ जना कामदार घाइते

२७ बैशाख, सुर्खेत । दैलेखमा आगलागीममा परेर १२ जना कामदार घाइते भएका छन् । आठबीस नगरपालिका–६ को माल्ले सामुदायिक वनमा लागेको आगोमा परेर १२ जना घाइते भएका हुन् ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको स्थानीय बलबहादुर थापाले बताउनुभयो । घाइतेहरू प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गोरेटो बाटो निर्माणमा खटिएका कामदार हुन् ।
थापाका अनुसार आगलागीमा परेका १२ जना प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गोरेटो बाटो निर्माणमा गएका थिए । ‘१२ जना प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गोरेटो बाटो खन्न खटिएका थिए । तलबाट कसले आगो लगायो थाहा भएको छैन । भाग्ने क्रममा नजिकैको ओडोरमा पुग्न सफल हुनेहरू सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गोरेटो बाटो निर्माणमा खटिएका भैरव विकको अवस्था चिन्ताजनक छ । उहाँको शरीर जलेको प्रहरीले जनाएको छ । अन्य तीन जना पनि गम्भीर घाइते छन् ।
गम्भीर घाइते हुनेहरूमा नैना विक, बसुन्धरा विक र प्रकाश विक रहेको प्रहरीले जानकारी दिएको छ । अन्य ८ जना सामान्य घाइते छन् । घाइतेहरूको उद्धार गरी आठबीस नगरपालिका–४ स्थित राकमकर्णाली आधारभूत अस्पतालमा उपचारका लागि प्राथमिक उपचार भइरहेको नगरपालिकाका उपप्रमुख कल्पना थापाले बताउनुभयो ।
गम्भीर घाइते भएका चार जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत् सुर्खेतस्थित प्रदेश अस्पतालमा पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो । सामान्य घाइते भएकालाई समेत थप उपचारका लागि सुर्खेत पठाइने उपप्रमुख थापाको भनाइ छ ।