सुर्खेत, १ जेठ ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८०÷०८१ को नीति, कार्यक्रम तथा बजेटका सरोकारवालाहरुसंग सुझाव संकलन सुरु गरेको छ ।
आइतबार पत्रकार भेटघाटको आयोजनागरी मुख्यमन्त्री राजकुमार शर्माले नीति तथा कार्यक्रमका बारेमा छलफल सुरु गरेको जानकारी दिनुभयो । सुझाव संकलनका लागि सोमबार र मंगलबार स्थानीय तहसँग छलफल हुने मुख्यमन्त्री शर्माले बताउनुभयो । यस्तै निजी क्षेत्र लगायत विभिन्न सरोकारवालाहरुसंग सुझाव संकलन गर्ने प्रदेश सरकारको कार्यतालिका रहेको छ ।
संघ प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय सहकार्य अपरिहार्य रहेको भन्दै प्रदेशले बनाउने नीति कार्यक्रमका बारेमा स्थानीय तहका प्रमुखहरुसंग छलफल गर्न लागिएको बताइएको छ । कर्णालीको विकास र जनताका अपेक्षा पूरा गर्नका लागि तीन तहका सरकारका साझा प्राथमिकता बनाएर काम गर्नुपर्ने मुख्यमन्त्री शर्माको भनाई छ ।
मुख्यमन्त्री शर्माले कतिपय ऐन, कानुन अझै बाझिने खालका भएकाले प्रशासनिक र वित्तीय संघीयता अझै राम्रोसँग लागु नभएको बताउनुभयो । पत्रकारहरुले वितरणमुखी नीति, कार्यक्रम र बजेट नल्याउन सुझाव दिएका छन् । पत्रकारहरुले बजेट कार्यान्वयनका सन्दर्भमा सरकार सधैँ चुकिरहेको भन्दै कार्यान्वयन, अनुगमनमा कडाई गर्नुपर्ने बताएका छन् । मुख्यमन्त्री शर्माले प्रदेशमा अझै एक हजार एक सय कर्मचारीहरुको अभाव रहेका कारण केही समस्या देखिएको बताउनुभयो ।
प्रदेश सञ्चालनमा सार्वजनिक खरिद ऐन, कानुनले समस्या बनाइरहेको मुख्यमन्त्री शर्माको भनाइ छ । उहाँले आगामी बजेट, नीति तथा कार्यक्रममा नयाँ भन्दा पनि कार्यान्वयन हुने खालका योजनाहरुलाई प्राथमिकता दिइने बताउनुभयो ।
