सुर्खेत, १५ जेठ ।
गणतन्त्र दिवस अधिकांस ठाउँमा सभा समारोहमा सिमित भैरको बेला सुर्खेतको सिम्ता गाउँपालिकाले भने पृथक कार्यक्रमगरी गणतन्त्र दिवस मनाएको छ ।
१६ औँ गणतन्त्र दिवसका अवसरमा गाउँपालिकाले सोमबार विकास सम्मेलनको आयोजना गरेको हो । गाउँपालिकाले जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, बुद्धिजीवी, शिक्षक, राजनीतिक दल, विकास साझेदारहरुलाई बोलाएर आगामी सुझाव संकलन गरेको छ । सम्मेलनबाट विभिन्न १४ बुँदे साझा संकल्प पारित गरिएको छ ।
कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्क पोख्रेलले शिक्षा स्वाथ्य र रोजगारी सिर्जना गर्ने खालका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिनुभएको छ । उहाँले निर्वाचनका बेला विभाजित भएपनि सिम्ताको विकासका लागि सबै राजनीतिक दल एक भएर लाग्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा विज्ञका रुपमा सहभागी नेपाल सरकारका पूर्व सचिव कृष्णहरी बाष्कोटाले गाउँपालिकाले मानव विकासमा प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । भौतिक विकासबाट मात्रै समृद्धि नआउने भन्दै मानव विकास, लघु उद्यम, रोजगारका कार्यक्रमबाट जनताका आयस्तर बृद्धिका लागि पालिकाहरुले बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्दले सिम्ताको विकास र समृद्धिका लागि सबै सरोकारवालाहरुका सुझावलाई ग्रहण गरेर अगाडी बढ्ने प्रतिबद्धता जनानउनुभयो । उहाँले समृद्धिका लागि आधार तयार गर्नेगरी आफूहरु काम गरिरहेको बताउनुभयो ।
राष्ट्रिय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका राष्ट्रिय उपाध्यक्ष कुलमणि देवकोटाले संविधानले मौलिक हकका रुपमा सुनिश्चित गरेको खानेपानीको हकलाई प्रत्याभूत गराउन पालिकाहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
गाउँपालिकालाई समृद्ध सिम्ताः सुखी सिम्तालीको स्थानीय आकांक्षालाई पुरा गर्दै नगरपालिका उन्मुख पालिका गराउन आवश्यक पूर्वाधार विकासका कार्यहरूमा जोड दिने, “सिम्ता गाउँपालिकाको आधारः गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार” मूल मर्मलाई आत्मसात् गर्दै शैक्षिक क्षेत्रको समग्र विकास गरिने, “स्थानीय विकासका लागि नागरिक र नागरिकको लागि स्थानीय सरकार”को भावनालाई आत्मसात् गर्ने घोषणा गरिएको गरिएको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत भलाराम पंगालीले बताउनुभयो । यस्तै ‘‘स्थानीय उत्पादन र उद्यममा वृद्धिः यसैमा छ समृद्धि” नाराका साथ कृषि तथा पशुपालनलाई विशेष जोड दिईने, गाउँपालिकाको पाँच वर्षे आवधिक योजना २०८०÷८१ देखि २०८४÷८५ लाई कार्यान्वयन गर्ने घोषणा गरिएको छ । पंगालीका अनुसार सबै प्रकारका गरिबी र भोकमरीको अन्त्य गरी मानवीय मर्यादा एवं समानता कायम गरिने, स्थानीय कला, संस्कृति, पर्यटन, पुरातात्विक वस्तुहरुको विकास, संरक्षण तथा प्रवर्द्धन गरिने पनि प्रतिबद्धा गरिएको छ ।