कर्णाली प्रदेश सरकारद्वारा आयोजना सूचना व्यवस्थापन प्रणाली सञ्चालन


सुर्खेत, २३ जेठ ।
कर्णाली प्रदेश सरकारले आयोजना सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ ।
दातृ निकायहरुको सहयोगमा कर्णाली प्रदेशमा संचालित परियोजनाहरुको भौगोलिक अवस्थिति, बिषयगत क्षेत्र तथा बजेटको आकार जस्ता सूचनाहरु राखिएको उक्त प्रणाली कर्णाली प्रदेश योजना आयोगले सोमबारदेखि सञ्चालनमा ल्याएको हो ।
यस प्रणालीले सरकार, दातृ निकायहरु र अन्य सरोकारवालाहरूलाई प्रमाणमा आधारित योजना तर्जुमा, समन्वय र नीति परिमार्जन गर्न सघाउने प्रदेश सरकारको अपेक्षा छ । साथ उक्त प्रर्णालीले उपलब्ध स्रोतहरूको प्रभावकारी उपयोग गर्न तथा अनुगमन र समन्वयको कामलाई सबल पार्न प्रदेश सरकारलाई मद्दत गर्ने बताइएको छ । सुरुवातमा प्रणालीमा करिब ५४ वटा परियोजनाहरूको विवरण राखिएको छ ।
युएनडीपीले कार्यान्वयन गरिहेको युरोपेली संघ समावेशी संघीयता सहयोग परियोजनाको प्राविधिक सहयोगमा तयार पारिएको उक्त प्रर्णाली सोमबार मुख्यमन्त्री कार्यालयलाई हस्तान्तरण गएिको छ । प्रणाली हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव आनन्द सारुले आयोजना सूचना व्यवस्थापन प्रणालीले दातृ निकायहरुको सहयोगमा कर्णालीमा संचालित परियोजनाहरूका सूचनाहरु व्यवस्थित गर्ने बताउनुभयो । यसले सरकार र विकास साझेदारहरूको लागि प्राथमिकताहरू निर्धारण गर्न र स्रोतको दोहोरोपन हटाउन मद्दत गर्ने सचिव सारुको भनाई छ । उक्त प्रणालीलाई थप सबल पार्दै सरकारले सञ्चालन गरेका आयोजनाहरु पनि यसमा समावेश गर्ने प्रदेश सरकारको योजना रहेको उहाँले बताउनुभयो ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय उप–प्रतिनिधि बर्नार्डोकोकोले समावेशी र दिगो विकासका कार्यक्रमहरुका लागि विश्वसनीय तथ्यांकको ठूलो महत्व हुने भन्दै योजना सूचना व्यवस्थापन प्रणाली उक्त आवश्यकता पुरा गर्न प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गर्नुभयो।
यो डिजिटल प्रणाली हाल कर्णालीमा कार्यान्वनमा रहेको संघीयता सहयोग परियोजना अन्तर्गत विकास गरिएको हो । युरोपेली संघ र युएनडीपीले संघीयता कार्यान्वयनमा कर्णालीमा सहयोग पुर्याइरहेका छन्, जसमा नेपाल सरकारको ‘प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम’ को पुरकको रुपमा प्रदेश तथा स्थानीय सरकारका प्रणाली र प्रक्रियाहरूमा समावेशीता, जवाफदेहिता र दिगोपन अभिवृद्धि गर्ने कार्यहरुपर्दछन् ।