लैङ्गिक उत्तरदायी बजेट निर्माण गर्ने वीरेन्द्रनगरका जनप्रतिधिहरुको प्रतिबद्धता

सुर्खेत, २८ जेठ । लैङ्गिक समानता, अपाङ्गता सामासिक समावेशीकरण निति र लैङ्गिक उत्तरदायी बजेट निर्माण गर्ने वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिधिहरुले प्रतिबद्धता जनाएका छन् ।
आज वीरेन्द्रनगर नगरपालिकाको आयोजना, द एसिया फाउन्डेसनको स्थानिय सरकार सवलिकरण कार्यक्रम र दलित महिला केन्द्र नेपालको सहयोगमा लैङ्गिक उत्तरदायी बजेट निर्देशिका सम्वन्धी अभिमुखीकरण कार्यक्रममा यस्तो प्रतिवद्धता गरिएको हो । लैङ्गिक उत्तरदायी बजेट प्रावधान अनुसार वीरेन्द्रनगर नगरपालिकाले सबै सरोकारवालाहरु संग समन्वय तथा सहकार्य गरि आवश्यक योजना तथा बजेट निर्माण गर्ने प्रतिवद्धता गरेका हुन ।
लैङ्गिक उत्तरदायी बजेट कसरी निर्माण गर्न सकिन्छ, यसका लागी कसरी बजेट निर्माण गर्न सकिन्छ भन्ने लक्ष्यका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको दलित महिला केन्द्र नेपाल सुर्खेतका जिल्ला संयोजक धर्मा शुवेदीले जानकारी दिईन् । कार्यक्रममा निग्माता ताम्राकार र संग्राम लामाले लैङ्गिक उत्तरदायी बजेट कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा अभिमुखीकरण गर्नु भएको थियो ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख निलकण्ठ खनालले वडा तथा पालिका स्तरमा लैङ्गिक उत्तरदायी बजेट निर्माण गरी कार्यान्वयन गरिने बताए । यस अभिमुखीकरण कार्यक्रमले निति तथा कार्यक्रम ल्याउन सहयोग गर्ने विश्वास व्यक्त गर्दै नगर उपप्रमुख खनालले आर्थिक वर्ष २०७९÷०८० भन्दा २०८०÷०८१ मा परिमार्जित कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए । अभिमुखीकरण कार्यक्रममा पालिकाका विषयगत शाखाका शाखा प्रमुखहरु सबै वडाका जनप्रतिनिधीहरु लगाएतको सहभागिता रहेको थियो ।