बजेट संशोधन नभएसम्म कर्णालीमा एमालेले संसद चल्न नदिने

सुर्खेत, १३ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णालीको बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संशोधन नभएसम्म संसद चल्न नदिने चेतावनी दिएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले गत असार १ मा संसदमा पेस गरेको बजेटमाथिको मन्त्रालयगत छलफलमा आज शून्य समयमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाईले बजेट संशोधन नभएसम्म संसदको कारबाही अगाडि बढ्न नदिने चेतावनी दिनु भएको हो ।
बजेट निर्माणका क्रममा अर्थमन्त्री बेदराज सिंहले मुख्यमन्त्री र योजना आयोगबाट दबाब आएको दबाबका बारेमा संसदमा जवाफ दिनु पर्ने पछाईले बताउनुभयो ।
अर्थमन्त्री सिंहले बजेट निर्माणमा योजना आयोगबाट दबाब आएको अभिव्यक्ति दिएको सन्दर्भमा मुख्यमन्त्री र अर्थमन्त्रीले बजेटलाई जिल्ला केन्द्रित गराएको, मन्त्रालयहरूमा डल्लो बजेट राखेको, नीति तथा कार्यक्रम विपरीत टुक्रे योजना बाँडेको, स्पष्ट हुनेगरी रातो किताब नल्याएको लगायतका आरोप एमालेले लगाएको छ ।