सेवालाई थप प्रवकारी बनाउने चिङ्गाड गाउँपालिकाको प्रतिबद्धता

सुर्खेत, २२ असार ।
चिङ्गाड गाउँपालिका सुर्खेतले सेवालाई थप प्रभावकारी बनाउनका लागि विभिन्न ५ बुँदे लिखित प्रतिबद्धता गरेकोछ ।
शुक्रबार गुड अप्सन नेपालको सहजीकरणमा गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाईमा सहभागीहरुले उठाएका जिज्ञासा तथा सुझावका आधारमा विभिन्न पाँच बुँदे प्रतिबद्धता गरिएको हो । आगामी दिनमा गाउँपालिकाबाट संचालन गरिने योजनामा उपभोक्ता समितिलाई पर्याप्त प्राविधिक परामर्श दिने, योजना छनौट गर्दा सबै वडामा वस्तिस्तरबाट माग लिनुका साथै योजना छनौटका सात चरणको पालना गर्ने लिखित प्रतिबद्धता गरिएको हो । यस्तै सबै वडामा तत्काल टोल विकास संस्था गठनगरी सक्रिय बनाउने, न्यायिक समितिले दिने सेवा बारे सेवाग्राहीहरुमा प्रचार प्रसार गर्ने र आगामी आर्थिक बर्षदेखि बार्षिक योजना कार्यान्वयनको कार्यतालिका बनाएर समयमै सम्झौतागरी सम्पन्न गर्ने प्रतिबद्धता गरिएको छ ।
कार्यक्रममा सहभागीहरुले योजना कार्यान्वयनमा पर्याप्त प्राविधिक सहयोग नपाएको, योजना छनौटका चरणहरु पालना नगरिएको, खानेपानी, सडक लगायतको समयमा मर्मत संभार हुन नसकेको, विद्यालयहरुमा आवश्यक पूर्वाधार नभएको, आवश्यक विउविजन नपाएको लगायतका जिज्ञासा जिज्ञासा एवं गुनासा राखेका थिए । गाउँपालिका अध्यक्ष बोधविक्रम जिसीले सहभागीहरु दिएका सुझावका आधारमा आगामी दिनमा सेवा र विकास निर्माणलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो । अध्यक्ष जिसीले कार्यालय प्रमुख लगायत कर्मचारीहरुको अभाव, संसदीय निर्वाचन आचार संहित लगायतका कारणले चालु आर्थिक बर्षमा योजना कार्यान्वयन केही ढिलाई भएको भन्दै आगामी बर्षदेखि समयमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपाध्यक्ष मिना कुमारी रोकायले आगामी दिनमा समावेशी विकासमा जोड दिने, न्यायिक समितिले दिने सेवा बारे प्रचार प्रसार गर्ने तथा सेवालाई थप प्रभावकारी बनाउने, योजनाको गुणस्तर कायम गर्नका लागि अनुगमलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो । प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर घर्तीले आगामी दिनमा सेवालाई थप चुस्त दु्रस्त बनाउनका साथै सरल रुपमा सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विकास निर्माण योजना कार्यान्वयनलाई गुणस्तरीय एवं प्रभावकारी बनाउनका लागि लाभग्राही जनता स्वंयले पनि पहरेदारी गर्नुपर्ने सुझाव दिँदै प्रभावकारी सेवा प्रवाहका लागि सेवाग्राही र कार्यालयबीचको समबन्ध सुमधुर रहन आवश्यक रहेको बताउनुभयो ।