सय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १० जना पक्राउ, २ जना कर्मचारी निलम्बित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिर लादै गर्दा गत बुधबार बरामद भएको झण्डै एकसय किलो सुन प्रकरणमा हालसम्म १० जना वक्राउ परेका छन् ।
सो प्रकरणमा राजश्व अनुसन्धान विभागले अनुसन्धान तीब्र बनाएसँगै १० जना पक्राउ परेका हुन् । विभागबाट खटिएको टोलीले अहिलेसम्म एक चिनियाँ र एक भारतीयसहित दश जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चिनियाँ नागरिक चि क्वाङ लिङ र तिब्बती मूलका भारतीय नागरिक थिप्तेन छिरिङ रहेका छन् । पक्राउ परेका नेपालीहरुमा दोलखाका रामकुमार भुजेल र दीलिप भुजेल, भोजपुरका हर्कराज राई, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुष्करराज भट्ट र भन्सार एजेन्ट राजेन्द्र राई रहेका छन् ।
पक्राउ परेका सबैलाईलाई राजस्व अनुसन्धान विभागमा राखिएको छ भने बुधबार पक्राउ परेका ६ जनालाई थुनामा राखेर अनुसन्धान गर्न पाटन उच्च अदालतबाट अनुमति पनि लिइएको छ । राजश्व अनुसन्धान विभागले पक्राउ परेका चिनियाँले भाडामा लिएको बालुवाटारस्थित फ्ल्याटमा पनि छापा मारेको छ । उनको कोठामा ठूल्ठूला बाकस भेटिएको र तिनमा शील गरेर अनुसन्धान अघि बढाइएको विभागका कर्मचारीहरुले बताएका छन् । यस्तै पक्राउ परेका भारतीय नागरिक थाप्तेन छिरिङले भाडामा लिएको पानीपोखरीस्थित फ्ल्याटमा पनि राजश्वले बिहिबार छापा मारेको थियो । यसैबीच, भन्सार विभागले सय किलो सुन विमानस्थल भन्सारबाट पास भएको विषयमा छानविन गर्न समिति बनाएको छ ।
विभागले अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको हो । यो छानविन समितिले भन्सारका कर्मचारीहरुबाट भएको गल्तीबारे छानविन गर्ने बताइएको छ । भन्सार विभागले जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गरेको छ । भन्सार अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले उक्त सुनको जाँच पास गरेका थिए । सो परिमाणको सुन गत मंगलबार स्कुटर र मोटरसाइकलको ‘ब्रेक सु’ को नामबाट नेपाल भित्र्याइएको थियो ।