सुर्खेत, १४ साउन ।
पेशागत महासंघ नेपालका केन्द्रीय अध्यक्ष पुण्य प्रसाद ढकालले नेपाल संघीय शासन प्रणालीमा गएको आठ बर्षसम्म पनि सरकारले संघीय निजामती ऐन नल्याउनु लज्जाको विषय भएको टिप्पणी गर्नुभएको छ ।
पेशागत महासंघ नेपाल कर्णाली प्रदेश कमिटिले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले संघीय शासन प्रणाली लागू भएको लामो समयसम्म पनि अत्यावश्यक ऐन कानुन नबन्नु लाजमर्दाे भएको बताउनुभएको हो । संघीय निजामति ऐन नबन्दा कर्मचारीहरु मारमा पर्नुका साथै देशको संघीय व्यवस्था नै लथालिङ्ग भएको जिकिर गर्नुभयो । निजामति ऐन, शिक्षा ऐन र स्वास्थ्य ऐन संघीयता कार्यान्वयनमा महत्वपूर्ण ऐन भएको उल्लेख गर्दै तत्काल जारी गर्न पनि सरकारसंग माग गर्नुभएको छ ।
पेशागत महासंघ कर्णाली प्रदेश कमिटिको शनिबार वीरेन्द्रनगरमा सम्पन्न पाँचौँ बैठकले पनि महत्वपूर्ण ऐनहरु तत्कालै ल्याउन माग गर्ने निर्णय गरेको छ । शिक्षा ऐन, संघीय निजामति ऐन, प्रदेश निजामती ऐन जस्ता महत्वपूर्ण ऐनहरु तत्काल ल्याउन, बाल शिक्षा विद्यालय कर्मचारी र शैक्षिक मज्दुर लगायतको मर्कालाई सम्बोधन गर्न नेपाल सरकार र कर्णाली प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।