जनताको अवस्था बदल्न एमाले सरकारमा जान आवश्यक छ–कंडेल


सुर्खेत, २५ साउन ।
नेकपा एमालेका स्थायी कमिटि सदस्य यामलाल कंडेलले जनताको अवस्था बदल्न नेकपा एमाले नेतृत्वको सरकार हुनुपर्ने बताउनुभएको छ ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन कर्णाली प्रदेश कमिटिको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रमलाई बिहीबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै नेता कंडेलले व्यवस्था बदलिएपनि जनताको अवस्था नबदिएको भन्दै अवस्था बदल्न एमालेको सरकार हुन आवश्यक रहेको बताउनुभएको हो । उहाँले राम्रो र सक्षम पार्टी सत्तामा नगए जनताले दुख पाउने प्रसंग उल्लेख गर्दै कंडेलले राम्रो पार्टीलाई सरकारमा पु¥याउन सबै सचेत नागरिक एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
संगठनका राष्ट्रिय अध्यक्ष विनोदजङ्ग पाण्डेले सेवामा हुँदा देशका लागि लडेका भूपू सैनिक प्रहरीहरु देशको मुहार फेर्नका लागि एकताबद्ध हुन जरूरी रहेको बताउनुभयो । उहाँले ज्ञान सीप क्षमताले अब्बल भूपु सैनिकहरूले समाजलाई रूपान्तरणका लागि नेतृत्व गर्न पनि तयार हुनुपर्ने पाण्डेले बताउनुभयो । उहाँले राष्ट्र र राष्ट्रियताका लागि सधैं लडेका भूपुहरू राष्ट्रियताको पक्षधर पार्टी रोज्नुपर्ने भन्दै वर्तमान अवस्थामा नेकपा एमाले नै राष्ट्रप्रमी पार्टी भएको जिकिर गर्नुभयो । देश बनाउने सामथ्र्य भएको पार्टी एमाले भएको भन्दै भूपू सैनिक प्रहरीले एमालेलाई समर्थन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं भुपू सैनिक प्रहरी संगठनका इन्चार्ज यज्ञराज सुनुवारले हिजो जनताका छोरालाई एक आपसमा भिडाउने नेपाली काँग्रेस र माओवादी एकै ठाउँमा उभिएकाले किन आपसमा लडाइएको थियो भन्ने जनताले जवाफ माग्नुपर्ने बताउनुभयो । वर्तनमा सत्ता गठबन्धनले राष्ट्रहित विपरितका कार्यमात्रै गरेको उहाँले जिकिर गर्नुभयो । एमाले पोलिटब्युरो सदस्य तथा जनवर्गीय संगठन कर्णाली इन्चार्ज गुलावजंग शाहले अफ्ट्यारोमा काँध हाल्ने एमाले पार्टी मात्रै भएको भन्दै सचेत नागरिक एक भएर एमालेलाई पहिलो पार्टी बनाउनुपर्ने बेला आएको बताउनुभयो ।
नेकपा एमाले केन्द्रीय सदस्य महोनमाया ढकालले देश र जनताका लागि भूपू सैनिक प्रहरी संगठनले महत्वपूर्ण योगदान गर्न सक्ने बताउनुभयो । एमाले कर्णाली प्रदेश कमिटि अध्यक्ष विनोद कुमार शाहले आउने २०८४ को निर्वाचनमा एमाले पहिलो पार्टी बजाउनका लागि सक्रिय भएर संगठन विस्तार गर्न आग्रह गर्नुभयो । संगठन केन्द्रीय उपाध्यक्ष रविन्द्र पण्डितले राष्ट्रिय भेला सम्मपन्न गरे पश्चात् प्रदेश कमिटी गठन अभियानमा लागेकाे बताउँदै सबै प्रदेश र जिल्लाहरुमा संगठन विस्तार गर्ने बताउनुभयाे । उहाँले आफ्नाे हक हित र समाजकाे नेतृत्वका लागि भूपुहरु संगठनमा आवद्द हुनुपर्नेमा जाेड दिनुभयाे ।

अध्यक्षमा गुरुङ्ग

आज सम्पन्न भएको नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनबाट खगेन्द्र गुरुङ्गकाे अध्यक्षतामा प्रदेश समिति चयन भएकाे छ । उपाध्यक्षमा प्रशान्त कुमार शाह र हर्कबहादुर गुरुङ, सचिवमा डिलबहादुर खड्का, उपसचिवमा नरबहादुर खड्‌का, दिपक बहादुर सिंह र कोषाध्यक्षमा देवराज गौली चयन हुनुभएकाे छ ।