सुर्खेतका तीन पालिकाका अपाङ्गता भएका किशोरीलाई स्वास्थ्य सम्बन्धि सामाग्री प्रदान

 


सुर्खेत – सुर्खेतका तीन पालिकामा अपाङ्गता भएका २४ जना किशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि तालिम दिनुका साथै स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
जिल्लाको वीरेन्द्रनगर, भेरिगंगा र गुर्भाकोट नगरपालिकामा परिलक्षित संस्थाद्वारा संचालित शैक्षिक सहयोग परियोजना अन्तर्गत प्रजनन स्वास्थ्य तालिम तथा स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
गुर्भाकोट नगरपालिकासँगको समन्वय तथा अपाङ्ग एकता समाजसँगको सहकार्यमा गुर्भाकोटका १२ जना अपाङ्गता भएका किशोरीलाई यौन तथा प्रजनन बिषयमा गुर्भाकोट नगरपालिका नगर स्वास्थ्य शाखामा कार्यरत यज्ञा पन्तले प्रशिक्षण दिएकी थिइन ।
यस्तै बुधबार (आज) वीरेन्द्रनगर नगरपालिकासँगको सहकार्यमा अपाङ्गता भएका सात जना बहिरा र पाँच जना शारीरिकरुपमा अपाङ्गता भएका १२ जनालाई शिद्ध बहिरा विद्यालयकी विद्यालय नर्ससमेत रहेकी शिक्षिका पवित्रा सुनारले प्रशिक्षण दिएकी थिइन ।
दुवै ठाउँमा भएका तालिममा यौन, तथा प्रजनन स्वास्थ्य, सुरक्षित महिनावारी, प्याडको सही प्रयोगका बारेमा सिकाईएको थियो ।
उक्त तालिम पश्चात २४ जना अपाङ्गता भएका किशोरीहरुलाइ दुई वटा प्याड, तीन वटा महिनावारी हुँदा लगाउने लुगा, दुई थान रुमाल, एक÷एक वटा नुहाउने र लुगाधुने साबुन कोलगेट, ब्रस र नङ्गकटलगायतका स्वास्थ्य सामाग्री नगर स्वास्थ्य शाखा वीरेन्द्रनगरका शाखा प्रमुख भुपेन्द्र गिरीले हस्तान्तरण गरेका थिए ।