कर्णालीमा स्थानीय आवधिक योजना तर्जुमा सम्बन्धी प्रशिक्षक तयार गरिदै


सुर्खेत, ८ भदौ ।
स्थानीय आवधिक योजना तथा मध्यकालिन खर्च संरचना तर्जुमा सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ ।
कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान सुर्खेतको आयोजना तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी÷यूसुफ) को सहकार्यमा उक्त तालिम सुरु भएको हो । तालिमको कर्णाली प्रदेश सरकारका निमित्त प्रमुख सचिव समेत रहनुभएका प्रशिक्षण प्रष्ठिानका निर्देशक विष्णु प्रसाद कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटनपछि बोल्दै निर्देशक कोइरालाले स्थानीय तह अधिकारसम्पन्न सरकार भएकाले त्यसको व्यवस्थित विकास र स्रोतको अनुसाशनरहि परिचालन गर्नका लागि आवधिक योजना र मध्यकालिन खर्च संरचनाले निदृष्ट गर्ने बताउनुभयो । उहाँले तालिमपछि प्रशिक्षक प्रशिक्षकहरुको रोष्टर तयारगरी प्रष्ष्ठिानले स्थानीय तहको आवधिक योजना र मध्यकालिन खर्चन संरचना निर्माणका परिचालन गर्ने पनि बताउनुभयो । कार्यक्रममा यूएनडीपी फिल्ड कार्यालय सुर्खेतका प्रमुख रफिक सिद्धकीले दिगो विकासका लक्ष्यहरुलाई स्थानीयकरणगरी सरकारका लक्ष्य, उद्देश्य प्राप्त गर्नका साथै जनअपेक्षा पूरा गर्नका लागि आवधिक योजना महत्वपूर्ण हुने बताउनुभयो । पाँच दिनसम्म सञ्चालन हुने उक्त तालिममा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट ३१ जनाको सहभागिता रहेको छ ।


पालिकाहरुले आवधिक योजना मार्फत योजना छनोट गर्नुपर्ने कानुनी प्राब्धान छन् । तर धेरै स्थानीय तहले आवधिक योजना बनाएका छैनन् कतिपय पालिकाले बनाएका योजना पनि प्रभावकारी नभएको भन्दै आलोचना हुने गरको छ । कर्णाली प्रदेशमा आवधिक योजना र मध्यकालिन खर्च संरचना निर्माणका लागि तालिमप्राप्त जनशक्तिको समेत अभाव भएकाले त्यसको पूर्ति गर्नका लागि तालिमको आयोजना गरिएको आयोजकले बताएको छ ।