सुर्खेत – ‘जनताको जागरण’ मूल ध्येयलाई आत्मसाथ गर्दै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट सञ्चालित जागरण एफ.एम. आजदेखि १५ औँ बर्षमा प्रवेश गरेको छ ।
समुदायका करिब साढे चार सय सदस्यहरु आवद्ध रहेको हातेमालो जागरण बहुउद्देश्यीय सहकारी संस्थाले जागरण एफ.एम.लाई सञ्चालन गरेको छ ।
जागरणले स्थापनाकालदेखि नै समुदायका मानिसहरुलाई लक्षित गरेर सूचना, समाचार, शिक्षामूलक र मनोजनात्मक क्षेत्रमा आफ्नो प्रसारणलाई केन्द्रीत गरेको छ ।
जागरण एफ एम ले विहान ५ बजेदेखि राती १० बजेसम्म दैनिक १७ घण्टा ९०.८ मेगाहर्जबाट आफ्नो प्रसारण सेवा सञ्चालन गरिरहेको छ । हाल यसले कर्णाली प्रदेशका सवै (१० वटा) जिल्ला स्थित अन्य सामुदायिक रेडियो स्टेशनहरुसँग र संघीय राजधानीमा नेपाल एफ.एम. नेटवर्कसंग सहकार्यगरी आफ्ना कार्यक्रमहरु कर्णालीका सबै जिल्ला र काठमाण्डौँ उपत्यकाबाट समेत प्रसारण गरिरहेको छ । साथै डिजिटल प्लेटफर्म अनलाइन, फेसबुक, ट्वीटर, यूट्यूव तथा मोवाल एप्लिकेशनबाट आफ्ना सन्देश, सूचना कार्यक्रमहरु स्रोता माझ पु¥याउने गरिएको छ ।
१५ औँ स्थापना दिवसका अवसरमा कर्णाली प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले शुभकामना दिँद निष्पक्ष सूचना सम्प्रेषणमा अडिग रहन सुझाव दिनुभएको छ ।
यस्तै कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेकप एमाले संसदीय दलका नेता यामलाल कंडेलले विकास र समृद्धि हाँसिल गर्न सञ्चार माध्यमको पनि महत्वपूर्ण भूमिका हुने भन्दै त्यसका लागि भूमिका खेल्न शुभकामना दिनुभएको छ ।जागरण एफ.एमका संस्थापक अध्यक्ष टिकाराम आचार्यले आगामी दिनमा मौलाउदो भ्रष्टाचार, व्यथिति, विसंगति बिरुद्ध निरन्तर खबरदारी गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
समुदायका पक्षमा पैरवी गर्न जागरण एफ.एम सधैँ प्रयत्नशिल रहेको भन्दै स्टेशन प्रमुख गोविन्द खत्रीले ९८६८०८०००१ र ०८३५२४१४२ नम्बरमा फोन गरेर सुझाव दिनका लागि स्रोताहरुमा आग्रह गर्नुभएको छ ।