सुर्खेत, २४ असार (जागरण) । सुर्खेतमा सामुदायिक विद्यालयका अभिभावकहरुलाई सम्मान गरिने भएको छ । बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनका लागि अभिभावकलाई प्रोत्साहित गर्ने उदेश्यले अभिभावकहरुलाई सम्मान गर्न लागिएको हो ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत कक्षा १ देखि ३ मा अध्ययनरत विधार्थीहरुका करिब ५ सय बढी अभिभावकहरुलाई सम्मान गर्न लागिएको शिक्षा विकास तथा समन्वय ईकाई सुर्खेतले जानकारी दिएको छ ।
इकाईका संयोजक जितबहादुर शाहका अनुसार सुर्खेतका पाँचसय ९ सामुदायिक विद्यालयबाट १/१ जना अभिभावक छनोट गरी ५ सय ९ जना अभिभावकलाई सम्मान गरिने छ ।
बालबालिकालाई नियमित विद्यालय पठाउने, स्वस्थकर खाजाको व्यवस्था गर्ने, नियमित रुपमा विद्यालयकोे पठनपाठबनारे जानकारी लिने लगायतका विषयका आधारमा उत्कृष्ट अभिभावक छनौट गरिने संयोजक शाहले जानकारी दिनुभयो ।
उहाँले अभिभावक छनोट गर्दा विद्यालयलाई रचनात्मक सहयोग गर्ने, विद्यालयका निति नियम र आचारसंहितालाई पालना गर्ने विषयलाई पनि आधार बनाइएको पनि बताउनुभयो ।
यसका लागि विद्यालयले अभिभावकको नाम सिफारिस गर्नुपर्ने छ । शाहले यही असार मसान्तसम्म सबै अभिभावकहरुलाई सम्मान गरिसक्ने बताउनुभयो ।