सिम्ता , २३ असोज । आज विश्व मानसिक स्वास्थ्य दिवस सुर्खेतको सिम्ता गाउँपालिका पनी मानसिक परामर्श कार्यक्रम गरी मनाईएको छ । हरेक वर्ष अक्टोबर १० मा यो दिवस मनाउने गरिन्छ ।
यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी यो दिवस मनाईएको गाउँपालिका अध्यक्षको सचिवालयले जनाएको छ ।
सिम्ता गाउँपालिका स्वास्थ्य शाखा, राकम सुर्खेतको आयोजनामा भएको परामर्श कार्यक्रम गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालिको अध्यक्षतामा तथा विभिन्न सरोकारवाला नागरिकहरुको सहभागितामा सम्पन्न भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत पाँच वर्षदेखि मानसिक स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ अन्तर्गत मानसिक क्षेत्रमा काम भइरहेको छ ।
संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य (२०१६–२०३०) मा पनि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी मानसिक स्वास्थ्यको प्रवर्द्धन र नसर्ने रोगबाट हुने मृत्युदरलाई एकतिहाइले कम गर्ने लक्ष्य रहेको छ ।