कर्मचारीको आन्दोलनले कर्णालीका स्थानीय तहमा सेवा प्रभावित

सुर्खेत, २५ असोज ।
स्थानीय तह अन्तर्गतका कर्मचारीहरुको आन्दोलनका कारण कर्णालीका अधिकांस स्थानीय तहमा सेवा प्रभावित भएको छ ।
सेवा सुरक्षाको माग गर्दै कर्मचारीहरूले सोमबारदेखि संघीय राजधानी काठमाडौंमा आन्दोलन जारी राखेका छन भने कार्यालयमा पेन डाउन गरेका छन् । आफ्ना मागहरु पूरा गर्न तर्फ सरकारले चासो नदेखाएकाले बुधबार देखि सुर्खेतका सबै स्थानीय तहमा कार्यरत कर्मचारीहरुले कामकाज नगरेको जिल्ला संघर्ष समिति सुर्खेतका संयोजक भुपेन्द्र भण्डारीले जानकारी दिनुभयो । आफूहरुले राखेका माग पूरा नभए आगामी दिनमा थप कडा आन्दोलनका कार्यक्रम गर्ने भण्डारीको भनाई छ ।
एकीकृत निजामति सेवा ऐन जारी हुनुपर्ने, निजामतीको परिभाषाभित्र स्थानीय तहका कर्मचारीसमेत समेटिनुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाबाटै नै हुने व्यवस्था लागु गर्नुपर्ने आफूहरुको माग रहेको संघर्ष समितिका केन्द्रीय सचिव इन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय सेवाबाट प्रदेश र संघीय निजामती सेवामा प्रवेश गर्न उमेरहद लागु हुन नहुने, समायोजन भएकाहरुको भविष्यलाई उचित सम्बोधन गर्नुपर्ने माग लगाउतका माग रहेका छन् ।