नागरिकका गुनासा सुनुवाईका लागि प्रतिबद्ध छु –नगर प्रमुख ढकाल


सुर्खेत, १४ कात्तिक ।
भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले धेरैभन्दा धेरै जनताका कुरा सुन्न र गुनासा सुनुवाई गर्नका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभएको छ ।
कर्णाली प्रदेश सरकारको एकीकृत गुनासो सुनुवाई संयन्त्र ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’ कार्यक्रम अन्तर्गत भेरीगंगा नगरपालिकामा आज सहकर्मी समाजले आयोजना गरेको स्थानीय सरकार र नागरिक समूहबीचको सार्वजनिक सुनुवाईमा नगरप्रमुख ढकालले उक्त प्रतिबद्धता जनाउनुभएको हो । सहज रुपमा सेवा प्रवाहका साथै जनताका गुनासाको सनुवाईका लागि नगरपालिकाले आफ्नै मोवाइल एप्लिकेशन सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो । भर्खरै सुरु गरिएको ‘भेरीगंगा नगरपालिका’ मोवाल एप हाल तीन वटा वडाबाट सुरु गरिएको र एक दुई महिना भित्रै सवै वडामा पु¥याइने उहाँको भनाई छ ।
कार्यक्रममा सहभागीहरुले नगरपालिकाले नकुहिने फोहोर उठाउने व्यवस्था मिलाउनुपर्ने, विभिन्न ठाउँमा पहिरोले अबरुद्ध भएका सडक समयमा खुलाउनुपर्ने, खानीपानी समस्या समाधान गर्नुपर्ने, कृषि, खेलकुद, युवाका लक्षित बजेट विनियोजना गर्नुपर्ने, युवा नीति बनाउनुपर्ने लगायतका सुझाव दिएका थिए । सहभागीहरुले उठाएका प्रश्न एवं गुनासाको जवाफ दिँदै नगर प्रमुख ढकालले जनताका आवश्यकता धेरै तर बजेट थोरै भएकाले जनआकांक्षा सम्बोधनका लागि अप्ठेरो परेको बताउनुभयो । साथै प्रदेश र संघ सरकार तथा साझेदार संघ संस्थाहरुसंग समन्वय गरी नागरिकका समस्या समाधानका लागि पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोख्रेलले हाल नगरपालिकामा सेवा ग्राहीहरुले लिखित रुपमा गुनासो पेटिका, टेलिफोन, इमेल, मोवाल एपबाट गुनासो गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । सामाजिक जवाफदेहिता र सुशासनका लागि कार्यालय प्रतिबद्धता रहेको उहाँले बताउनुभयो । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम र कर्णाली प्रदेश सरकारको सहयोग सहकार्यमा सञ्चालित हाम्रा कुरा हाम्रा मुख्यमन्त्री संयन्त्रमा निशुल्क रुपमा हटलाइन नम्बर १०९६, हाम्रा कुरा मोवाइल एप, इमेल, ह्वाटएप, भाइबर लगायतबाट गुनासा दर्ता गर्न सकिने सहकर्मी समाजका कार्यक्रम संयोजक खड्ग प्रसाद शर्माले जानकारी गराउनुभएको थियो । कार्यक्रममा नगर उपप्रमुख धनसरा बोहोरा, शाखा प्रमुखहरु, स्थानीय समूह संस्था लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।