
सुर्खेत, १७ कात्तिक ।
कर्णाली प्रदेशको विकास र सुशासनका लागि गुनासो सुनुवाई संयन्त्र ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’ कार्यक्रम अन्तर्गत जाजरकोटको शिवालय गाउँपालिकामा स्थानीय सरकार र नागरिक समूहबीच सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
सहकर्मी समाजको आयोजना तथा कर्णाली प्रदेश सरकार र यूएनडीपीको सहयोग सहकार्यमा विहीबार गाउँपालिकाको केन्द्र शिवालयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शेर बहादुर शाहीले सरल छरितो र गुणस्तरीय सेवा प्रवाहका लागि प्रतिबद्धता रहेको बताउनुभयो । अध्यक्ष शाहीले नागरिकका धेरै आवश्यकता र आकांक्षा रहेको तर थोरै स्रोत साधन उपलब्ध हुँदा स्थानीय सरकारले पूरा गर्न नसकेको जिकिर गर्नुभयो । उपलब्ध स्रोत साधनबाट गुणस्तरीय प्रभावकारी एवं सुशासनयुक्त सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको अध्यक्ष शाहीले बताउनुभयो । निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद न्यौपानेले कार्यालयको सुशासनका लागि सार्वजनिक सुनुवाई, सूचनाको प्रकाशन÷प्रसारण, गुनासाको सुनुवाईको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले जवाफदेहि र पारदर्शी सेवाका लागि शिवालय गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
हाम्रा कुरा हाम्रा मुख्यमन्त्री गुनासो सुनुवाई संयन्त्रमा शिवालय गाउँपालिकाबाट ३४ वटा गुनासो दर्ता भएको र ती सबै फछ्र्यौट भइसकेको गुनासो सुन्ने अधिकारी प्रकाश शाहीले जानकारी गराउनुभएको थियो । उहाँका अनुसार अधिकांस गुनासो खानेपानी, सडक, विद्युत, टेलिफोनको गुणस्तरीय सेवा सम्बन्धी रहेका थिए । कार्यक्रममा सहकर्मी समाजका कार्यक्रम संयोजक खड्ग प्रसाद शर्माले नागरिकका तत्कालिन समस्या समाधानका लागि गुनासो सुनुवाई संयन्त्रले काम गरिरहेको जानकारी दिनुभयो । उक्त संयन्त्रमा दूर दराजका नागरिकले निशुल्क हटलाइन सेवा १०९६ मा फोनगरी गुनासो दर्ता गराउन सक्ने बताउनुभयो । कार्यक्रममा स्थानीय नागरिक समूह, सञ्जाल, विभिन्न समिति, राजनीतिक दल लगायतबाट सहभागिता रहेको थियो ।
