तरङ्गा नेपालले भूकम्प पीडितका लागि बनायो १५ हजारमै तयार हुने नमूना अस्थायी आवास

जागरण संवाददाता
जाजरकोट ।

कार्तिक १७ गते गएको भुकम्पको इपिसेन्टर बारेकोट गाउँपालिका जाजरकोटमा तङ्गा नेपालले दश वटा अस्थायी घर निर्माण गरेको छ ।

भूकम्पको केन्द्रविन्दु स्थल बारेकोटको स्थलगत अनुगमनमा पुगेको तरङ्ग नेपालको टोलीको प्राविधिक तथा सामाग्री सहायता ,बारेकोट गाउँपालिकाको समन्वय र समुदायको अग्रसरतामा १० घरधुरीको निम्ति डोम आकारको अस्थायी आवास निर्माण गरेको हो । पुन प्रयोग गर्न सकिने गरी जस्ता पाता र फलामको प्रयोग गरी आवास निर्माण भएपछि १० घरले केही राहतको महशुस गरेको बारेकोट गाउँपालिका अध्यक्ष वीर बहादुर गिरीले बताउनु भयो।
पहिलो चरणमा १० अस्थायी आवास निर्माण भएको र तिहार लगत्तै अन्य अस्थायी आवासको निर्माण गर्ने तयारी रहेको तरंग नेपालका कर्णाली फोकल पर्सन ई नरेश खड्काको भनाइ रहेको छ। यसअघि २०७२ सालको भूकम्पपछि विभिन्न जिल्लामा यस्तै आकारका अस्थायी आवास निर्माण गरेको र उक्त आवास नागरिकले पनि रुचाएका कारण यस पटक पनि ती घर निर्माण गर्न सकिने ई खड्काले बताउनुभयो । कम लागतमा निर्माण हुने तथा अस्थायी आवास निर्माणमा प्रयोग गरिएका सामग्रीको पुन प्रयोग पनि गर्न सकिने भएकाले डोम आकारको घर उपयुक्त हुने खड्काले बताउनुभयो । उहाँका अनुसार घरधनी आफैले दुई दिनमा त्यस प्रकारको घर निर्माण गर्न सक्ने तथा करिब १५ हजार लागतमा हुन्छ ।
खुला आकाश मुनि रहेका भूकम्पपीडितलाई अस्थायी बासको आवश्यकता रहेकोले समुदायलाई नै परिचालन गरी सामाग्री,स्वयंसेवक र प्रविधिको सहयोग गर्ने मोडालिटीबाट सरोकारवाला संघ संस्थाहरु अघि बढ्नुपर्ने तरंग नेपालका सचिव ई छविलाल अधिकारीले बताउनुभयो ।
अस्थायी आवासको काम सकिएपछि सरकार तथा संघ संस्थाहरुले ढिला सुस्ती नगरी भग्नावशेष पन्छाउने काम गर्नु पर्ने र त्यस पश्चात पुनर्निर्माणमा अघि बढाउनु पर्ने आवश्यकता रहेको आर्किटेक्ट विनोद नेपालले बताउनु भयो।

२०७२ सालको भूकम्प पछिको पुनर्निर्माणले हाम्रो पारम्पारिक तथा मौलिक निर्माण शैलीको संरक्षण गर्न नसकेको हुँदा तरङ्ग नेपालको सहयोगमा भूकम्प प्रभावित क्षेत्रको अध्ययन भइरहेको अध्ययन टोलीका सदस्यहरू आर्किटेक्ट सुगन्ध सुवेदी र मधुसुधन बरालले बताउनु भयो।

६.४ रेक्टर स्केलको भूकम्पका कारण कर्णाली प्रदेशका जाजरकोट र रुकुम पश्चिम लगायत जिल्लाहरुमा भएको ठुलो मानविय तथा भौतिक क्षती भएको छ। जाडो मौसममा खुला आकाश मुनि कठिङग्रिएर रात काट्नु पर्दा भूकम्प प्रभावित क्षेत्रको जनजीवन कष्टकर बनेको छ।