अपाङ्गताको सवाल मानव अधिकारमैत्री नभएको अपाङ्गता भएका व्यक्तिहरुको गुनासो


सुर्खेत, १५ मंसिर । कर्णालीमा अपाङ्गता भएका व्यक्तिहरुले आफुहरु समाज र सरकारबाटै अपहेलित हुनुपरेको गुनासो गरेका छन् । विहिबार वीरेन्द्रनगरमा अपाङ्गता भएका व्यक्तिहरुको ३२ औं अन्तराष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन । दिवसको अवसरमा दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुको सवाल र संचारकर्मीको भुमिका बिषयक अन्तत्र्रिmया कार्यक्रमका अधिकांश सहभागीले आफुहरुप्रति समाज र सरकारले गर्ने व्यवहार तथा प्रयोग गरिने अपमान जनक शब्दले अपहेलित महसुश हुने गरेको गुनासो गरेका थिए ।
सांसदहरुले संसद बैठकमै अन्धो, बैरो, बौलाह सरकार भन्ने जस्ता शब्द प्रयोग गर्ने र समाजमा पनि मानिसहरुले त्यस्तै शब्द बोल्दा आफुहरुप्रति ठुलो अपमान हुने गरेको उनीहरुको भनाइ छ । अपाङ्गताको समग्र सवाल नै मानव अधिकारमैत्री र समावेशी हुनुपर्ने भन्दै आमसंचार माध्ययमले समेत अपाङ्गता भएका व्यक्तिहरुको आवाज उठाउन नसकेको उनीहरुको गुनासो छ । अपाङ्गताभित्र पनि महिलाको अवस्था झनै दयनीय रहेको भन्दै घर भित्रैबाट विभेद सुरु हुँदै समाज र राज्यस्तरमा समेत त्यसको प्रभाव देखिएको राष्ट्रिय अपाङ्गता महासंघ नेपालका केन्द्रीय सदस्य सुरेश खड्काले बताए । सरकारले अपाङ्गताको वर्ग निर्धारण र परिचयपत्र वितरणमा समेत प्रभावकारी रुपमा काम गर्न नसकेको उनको आरोप छ ।
नेत्रहिन संघ कर्णालीका अध्यक्ष तोरण अधिकारीले अपाङ्गता भएका व्यक्तिको साझा सवाललाई समग्र मानवअधिकार र महिला अधिकार आन्दोलनको प्राथमिकतामा पारिनुपर्ने बताए । समाजका अन्य वर्गसरह सम्मानित जीवन जिउनका लागि अपाङ्गतामैत्री भौतिक संरचना, समावेशी शिक्षा, सांकेतिक भाषामा सूचना र सञ्चार सेवामा सहज पहुँच पु¥याइनु पर्ने अधिकारीले बताए । यस्तै ब्रेल तथा अडियो सामग्री, बौद्धिक अपाङ्गता, अटिज्म, मनोसामाजिक अपाङ्गता, सेरेबल पल्सी अपाङ्गताका लागि सहयोगी सेवा, स्पाइनल कर्ड इन्जुरी अत्यावश्यक स्वास्थ्य सामग्री, हेमोफेलिया अपाङ्गताका लागि फ्याक्टर तथा दैनिक औषधि तथा आवश्यक सहायक सामाग्रीको महत्व र उपलब्धता बारे सबैमा सचेतना जगाउन जरुरी रहेको उनको भनाई छ ।