ऐतिहाँसिक सिम्ता ठाँटी मेला सम्पन्न-भलिबलको उपाधि आयोजकलाई


सुर्खेत, २५ मंसिर ।
सिम्ता गाउँपालिका वडा नं. ३ को ठाँटीमा आयोजित ऐतिहाँसिक मेला सम्पन्न भएको छ ।
यही मंसिर २२ गतेबाट शुरु भएको ठाँटी मेला सोमबार सम्पन्न भएको हो । मेलाको अवसरमा आयोजित भलिबल प्रतियोगिताको उपाधि आयोजक जनसन्देश युवा क्लवले हात पारेको छ । यस्तै शिवालय गाउँपालिका जाजरकोटको टिम उपविजेता बनेको छ । विजेताले ट्रफिसहित ५० हजार र उपविजेताले ट्रफिसहित ३० हजार नगद हात पारेका छन् । यस्तै व्याटमिण्टन प्रतियोगितामा इलाका प्रहरी कार्यालय सल्ली बजारको टिमलाई उपविजेतामा सिमित गर्दै गुर्भाकोट नगरपालिकाको टिम विजेता बनेको छ । डोरीतान प्रतियोगिता तर्फ राम्री टोल विकास संस्था सिम्ता १ को टिम विजेता बनेको छ भने जनसन्देश युवा क्लवले उपविजेतामा चित्त बुझाएको छ ।


मेलामा प्रदर्शन गरिएका गर्रा, पञ्चेबाजा, सिँगारुलाई पनि प्रोत्सहान गरिएको आयोजक जन सन्देश युवा क्लवका अध्यक्ष गगन सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार पौराणिक रुपमा लाग्दै आएको मेलालाई व्यावसायिक हिसाबले जोड्दै पर्यटन प्रबद्र्धनका लागि विभिन्न प्रतियोगिताको आयोजना गरिएको हो । मेलाको समापन कार्यक्रममा बोल्दै सिम्ता गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्दले युवाहरुलाई खेलकुद मार्फत रचनात्मक कार्यमा जोड्दै पर्यटन पबद्र्धनका लागि मेलाले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले मौलिक सांस्कृतिको संरक्षण, खेलकुद तथा पर्यटन प्रबद्र्धनका लागि पौराणिक मेलाको महत्वपूर्ण भूमिका हुनेभएकाले यीनको संरक्षणका लागि गाउँपालिकाले उचित ध्यान दिनेमा जोड दिनुभयो । सिम्ता गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष वीरेन्द्र सिंह, मेला व्यवस्थापन समितिका आर्थिक संयोजक तेज विक्रम सिंह लगायतले आगामी दिनमा मेलालाई थप व्यवस्थित रुपमा मनाउनका लागि लाग्ने बताउनुभयो ।