आज राति नेपालबाट मिथुन उल्का वर्षाकोे दृष्य देख्न पाइने

मंसिर २८, काठमाण्डौ । आज राति नेपालबाट मिथुन उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने खगोलविद्ले बताएका छन् । नेपालबाट आकाश खुलेको बेलामा उल्का वर्षा अवलोकन गर्न सकिने छ ।
नेपालको जुनसुकै ठाउँबाट बेलुका ८ बजेदेखि भोलि बिहान साढे ५ बजेसम्म उल्का वर्षालाई अवलोकन गर्न सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार उल्का वर्षालाई खाली आँखाले नै हेर्न सकिन्छ । यो वर्ष मंसिर १८ गतेदेखि शुरु भएको मिथुन उल्कावर्ष पुस १ गतेसम्म सक्रिय रहने भट्टराईले बताउनुभयो ।
अत्यधिक सक्रिय भने आज राति हुने र अत्यधिक सक्रिय भएका बेला प्रतिघण्टा १५० वटासम्म उल्का देखिन सक्ने उहाँको भनाइ छ । उल्का वर्षाको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्कावर्षा नामकरण गरिएको हो ।
उल्का वर्षा हेर्न चाहनेले आफ्नो घरबाट वा प्रकाश प्रदूषण ( उज्यालो प्रकाशका कारण आकाशमा हुने प्रदूषण ) कम भएको ठाउँबाट अवलोकन गर्न तथा फोटो खिच्न सक्नेछन् ।