कर्णालीको विकासका लागि सरकारी र गैरसरकारी संस्था एक भएर लाग्नुपर्ने मुख्यमन्त्री शर्मा

मंसिर ३०, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशको विकासका लागि सरकार र गैरसरकारी संस्था एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । शुक्रबार सुर्खेतको विरेन्द्रनगरमा गैरसरकारी संस्था महासँघ नेपाल कर्णाली प्रदेशको छैटौ साधारण सभा तथा प्रदेश अधिवेशन र बृहत नागरिक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री शर्माले देशमा राष्ट्रिय एकताको आवश्यक रहको भन्दै, देश विकासको लागि तिनै तहका सरकार र आम नागरिक एकजुट हुनुपर्ने बताउनुभयो । सरकारले गर्ने कामको निगरानी गर्ने अधिकार नागरिकलाई भएकाले पनि सरकारलाई निरन्तर खबरदारी गर्न र अप्ठारोमा सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले कर्णालीको मुख्य दुस्मन गरिबी रहेको भन्दै गरिबी निवारण सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभयो । मुख्यमन्त्री शर्माले गरिबीबाट माथि उठ्न एक्लै सम्भव नभएकाले आगामि दिनमा आम नागरिकसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । यस्तै, कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय महासचिव अर्जुन भटट्राइले पछिल्लो समय सामाजिक संस्थाहरु कमजोर बन्दै गएको बताउनुभयो । उहाँले कर्णालीे मानव सुचाङ्कमा पाछाडि रहेको भन्दै प्रदेशका सम्वृद्ध बनाउन सरकार, विभिन्न संघ सस्था र निजि क्षेत्र एक हुनुपर्ने बताउनुभयो ।
“सामाजिक न्याय मानव अधिकार नागरिक स्वतन्त्रताको लागि पहरेदारी, दिगो विकास सुशासन सम्वद्धिको लागि प्रभाकारी साझेदारी” भन्ने मूल नाराका साथ गैरसरकारी संस्था महासँघ नेपाल कर्णाली प्रदेशले कार्यक्रमको आयोजना गरेको हो ।