मध्यपश्चिम विश्वविद्यालयमा एमफिल कक्षा शुरु

सुर्खेत, २६ असार (जागरण) । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा एमफिल कक्षा शुरु भएको छ । मंगलबार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी व्यवस्थापन संकायतर्फको एमफिल कार्यक्रमको उद्घाटन गरिएको हो ।
विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत एमफिल कक्षा शुरु गरिएको छ । एमफिल कार्यक्रमको उद्घाटन गर्दै विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्र कोईरालाले व्यवस्थापन संकायमात्र नभई अन्य संकायको स्तरोन्नति गर्न आफूहरु लागि परेको बताउनुभयो ।
उहाँले शैक्षिक गुणस्तर बढाउनका लागि शिक्षकको गुणस्तर उच्च हुनुपर्ने बताउँदै एमफिल कक्षाले विद्यावारिधी र स्नातोकोत्तरलाई जोड्ने पुलको रुपमा काम गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले विश्वविद्यालय प्रदेशको गहना भएको भन्दै यसको संरक्षण गर्न विद्यार्थी तथा शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
साथै उहाँले विश्वविद्यालयले गर्ने हरेक राम्रो काममा प्रदेश सरकारको साथ रहने प्रतिवद्धता जनाउनुभयो ।
यस्तै, व्यवस्थापन संकायका डिन मस्तबहादुर गरञ्जाले कक्षा संचालनका समयमा आवश्यक पर्ने सामग्री व्यवस्थापन विश्वविद्यालय प्रशासन गम्भीर हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

मन्त्री रावलले यो प्रदेशमा उच्च शिक्षाको ढोका खोल्न विभागीय मन्त्रीका हिसाबले सरकारका तर्फबाट गर्नुपर्ने पहलमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

कार्यक्रममा विषय विज्ञ प्रा.डा.प्रेमराज पन्तले एमफील पढ्ने, पढाउने भन्दा पनि स्वअध्यनको विषय भएकाले खोज, अनुसन्धानमा लाग्न तथा आफ्नो ज्ञान, सीप एवं अनुभवलाई आदानप्रदान गर्न सुझाव दिए ।कार्यक्रमका अर्का अतिथि वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले स्थानीय सरकारका तर्फबाट मानव संसाधनको बृहत्तर विकासका लागि विश्वविद्यालयसँग सहकार्य गर्न तयार रहेको बताउनुभयाे । कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा.महेन्द्रकुमार मल्ल सहित विभिन्न सङ्कायकाडीन,निर्देशक,क्याम्पस प्रमुख,विद्वत विद्यार्थी,शिक्षक(कर्मचारी लगायतको उपस्थिति रहेको थियो । यसैबीच, मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ सङ्काय अन्तर्गत इन्जिनियरिङ केन्द्रीय क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख सोनालाल यादवले आजै(सोमवार विहान) एक औपचारिक कार्यक्रमका बीच आफ्नो पदभार ग्रहण गर्नुभएकाे छ ।